काठमाडाैं, २६ असार । चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गरेका छन् ।
नायिका पोखरेलले श्रीमानबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकाले आज काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो ।
परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने र यदि त्यस्तो घटना हुन पुगे कानूनीरुपमा मुद्दा अगाडि बढाइने सहमति भएको जानकारी दिए ।
सहमतिपछि परिसरमा पत्रकारसँग कुरा गर्दै नायिका पोखरेलले भनिन्, “मलाई जे पर्याे त्यो मैले भोगेँ, यदि कसैले त्यस्तै पीडा भोगिरहनुभएको छ भने तपाई पनि नडराइकन आउनुस् भन्छु ।”
पोखरेलले उक्त घटनामा निर्माता ओझाले क्षमा माग्नुभएको बताइन् । चलचित्र निर्माता ओझाले सामान्य घरझगडा प्रहरीमा आउनुपर्ने खालको नभए पनि यसमा मेलमिलाप भइसकेकोे जानकारी दिए ।
‘लज्जा’ चलचित्रबाट पोखरेललाई ओझाले नै चलचित्रको नायिकामा ल्याएका थिए । अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि ओझाले पोखरेलसँग विवाह गरेका हुन् ।