रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न बिदेशीस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं, २८ चैत । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउनका लागि पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन् ।

दुई दर्जनभन्दा बढी राजदूत, कार्यबाहक राजदूत, महावाणिज्यदूतलगायत विभिन्न देशका नियोग प्रमुखहरूसँग आइतबार दिउँसो भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् ।

उनले विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनु पर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए । ‘हामीलाई यतिबेला विदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने दबाब छ ।

यसका लागि तपाईंहरूले विशेष भूमिका खेल्नुपर्छ’, उनले भने, ‘रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस् । नेपाल कोभिड-१९ बाट तंग्रिसकेको सन्देश दिँदै पर्यटन प्रबर्द्धनका विभिन्न कार्यक्रम गरी धेरै भन्दा धेरे पर्यटक नेपाल आउने वातावरण सृजना गर्नुस् ।’

चैत महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिँदै यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो रहेको उनले बताए ।

त्यसक्रममा अर्थमन्त्री शर्माले लगानी सम्मेलनहरु आयोजना गरी नेपालमा बिदेशी लगानी बढाउने बातावरण सृजना गर्नुपर्ने पनि बताए ।

‘हामीले अलि ठूला परियोजना बनाउँदा मात्रै ऋण लिने र यस्तो ऋण सम्बन्धित परियोजनाले नै तिर्नक्ने किसिमले लिने गरी मोडालिटी बनाउँदैछौं’ उनले भने, ‘गैरआवासिय नेपालीलाई पनि डलरमा खाता खोल्न धेरै सहज बनाइसकेका छौं ।’

त्यस्तै कुन देशमा कस्तो बस्तुको माग रहेको र नेपालमा त्यसको उत्पादन हुन सक्ने भए सुझाव दिन पनि उनले आग्रह गरे । ‘हामी उत्पादन वृद्धि गरी निर्यात बढाउन खोजिरहेका छौं ।

यसका लागि कुन देशमा के बस्तुको माग छ भन्न्ने कुरा तपाईहरुले सुझाव दिनुस् । त्यसपछि सोहीअनुसारको बस्तु निर्यात गर्नका लागि यहाँ तयारी गरिनेछ’ अर्थमन्त्री शर्माले भने ।

अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई बिस्तारै सुधार गर्ने दिशामा सरकार अघि बढेको बताए । कार्यक्रममा कायममुकायम गर्भनर निलम ढुङ्गाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औंल्याएकी थिइन ।