‘क्यान इन्फोटेक’को तयारी अन्तिम चरणमा, टिकट शुल्क १ रुपैयाँ मात्रै

काठमाडौं, २८ चैत । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२२ को तयारी अन्तिम चरणमा पुगेको छ ।

सोमबार आयोजक कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलन वैशाख ७ गतेदेखि भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

यस पटकको मेलामा आइएमइ पे मुख्य प्रायोजक र एमसिटी स्मार्ट क्युआर युनियन पे सह–प्रायोजक रहेको आयोजक संस्थाले जनाएको छ ।

सफ्टवारिका कलेज अफ आईटी एण्ड इकमर्स आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्युआर इन्नोभेसन पार्टनर रहेको छ भने सनवे इन्टर्नेशनल विजनेश स्कुल एकाडेमिक पार्टनर, रिबान फुड एण्ड वेभरेज पार्टनर तथा अल्ट्रा एलईडी डीजिटल डिस्प्ले पार्टनर रहेका छन ।

त्यस्तै इन्फोटेकको प्लाटिनम प्रायोजनमा वर्ल्डलिंक कम्युनिकेशन्स, गोल्ड प्रायोजनमा नेपाल टेलिकम, जेनेरेशन नेक्स्ट कम्युनिकेशन्स र सागर ग्रुप अफ कम्पनिज र सिल्भर प्रायोजनमा नमस्ते पे, एस–पावर, ब्रोडवे इन्फोसिस नेपाल र डिजिकम रहने जनाइएको छ ।

यो पटकको इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट, लर्निङ सेन्टर, देशभित्रका स्टार्टअप, मोवाइल, आइटी कलेज र नवीनतम सोचमा आधारित रहेर सुचना प्रविधिको क्षेत्रमा अध्ययनरत बिद्यार्थीद्वारा निर्मित प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य आकर्षण हुने देखिएको छ ।

स्टल बुकिङ्गका आधारमा प्रदर्शकहरुले विश्व बजारमा हालसालै आएका एवं उपलब्ध नवीनतम प्रविधीका साथसाथै अपरेटिङ सिस्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा एक्सेसरिज, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरुका पछिला संस्करणहरु प्रदर्शनीमा राख्ने बताएका छन् ।

त्यसैगरी, आर्टी्फिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, सुचना प्रविधिमा आधारित कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने गरि प्रदर्शकहरुले तयारी गरेका छन ।

टिकट शुल्क १ रुपैयाँ मात्रै

मेला आयोजकले अवलोकनकर्ताको संख्या बढाउन प्रवेश शुल्क निकै नगण्य बनाएको छ । महासंघले मेला हेर्न जम्मा १ रुपैयाँ तोकेको र उक्त रकम आइएमइ पेले व्यवस्थापन गर्ने बताइएको छ । मेलामा क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलामा करिब ३ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

यसअघि पटक पटक मिति घोषणा गरिए पनि कोभिड(१९ को लहरका कारण मेला आयोजना हुन सकेको छैन ।

२०७८ साल बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म पहिलो पटक र २०७८ साल माघ १८ गते देखि २३ गतेसम्म दोश्रो पटक हुने गरी तयारी गरिएपनि स्थगित गरिएको थियो ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि ९आईसीटी० बारे चेतना बढाउन, उद्योग तथा उद्यमीको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन सन १९९५ देखि बर्षेनी आयोजना हुदैं आएको छ ।

यसले व्यवसायी तथा ग्राहकका लागि अन्तक्रियाको एक प्लाटफर्म सिर्जना गर्नेछ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here