संस्थागत श्रम स्वीकृति आजदेखि अनलाइनबाटै, फाइल बोकेर विभाग धाउन नपर्ने

काठमाडौं, २ वैशाख । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट मात्रै जारी गरेको छ ।

श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय ताहाचलबाट संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै जारी गर्न लागेको हो ।

विभागले गत माघ २ गतेदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति प्रदान गर्दै आएको छ । सरकारले श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट उपलब्ध गराउँदै आएको छ ।

अनलाइनबाट व्यक्तिगत र संस्थागत श्रम स्वीकृति प्रदान गर्न थालिएसँगै वैदेशिक रोजगार कार्यालयमा हुने भीडभाड हटेको छ । कुनै समय हजारौँको उपस्थिति हुने कार्यालय आजकाल सुनसान हुन थालेको छ ।

विभागले सूचना जारी गर्दै सम्बन्धित इजाजतपत्रवाला संस्था, सेवाग्राही र सरोकारवाला सबैलाई संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै हुने जानकारी गराएको छ ।

पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा दिने आधारमा अनलाइन निवेदनको फछ्र्योट गरिने भन्दै विभागले कम्तिमा तीन दिन अगाडि श्रम स्वीकृतिका लागि अनलाइनबाट निवेदन दिन आग्रह गरेको छ ।

गत फागुन महिना मात्रै ४८ हजार ७४३ पुरुष र ४ हजार ७१४ महिला गरी ५३ हजार ४५७ जनाले विभागबाट श्रम स्वकृित लिएका छन् । श्रम स्वीकृति लिने मध्ये अधिकांश अदक्ष श्रमिक रहेका छन् ।

८ उच्च सीपयुक्त, ६८ व्यवसायिक, चार हजार ९९६ अर्धदक्ष, २३ हजार ६६ दक्ष र २५ हजार ३१९ अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।

हाल म्यानपावर कम्पनीका प्रतिनिधि पूर्व र अन्तिम श्रमस्वीकृतिका लागि फाइल बोकेर विभागमा नै जानुपर्ने अवस्था रहेको छ।

संस्थागत श्रम स्वीकृतिका लागि दूतावासले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मार्फत अपलोड गरी पठाएको मागपत्र अनलाइन गरेपछि विभागले नै पूर्व र अन्तिम श्रम स्वीकृति दिनेछ।

पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार मासिक औसत १५ हजार श्रमिकले संस्थागत रूपमा श्रम स्वीकृति लिने गरेको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here