पर्यटकले भिसा शुल्क तिर्न २०० डलर नगद बोकेर आउनुपर्ने प्रावधान खारेज

फाइलफोटो

काठमाडौं, ६ वैशाख । अध्यागमन विभागले ‘अनअराइभल भिसा लिन’ पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन अनुरोध गरेको निर्णय स्थगित गरेको छ ।

विमानस्थल अध्यागमन कार्यालयले वैशाख तीन गते ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना जारी गरेपछि चौतर्फी विरोधकाबीच उक्त निर्णय रोकिएको हो । सो निर्णयको व्यापक आलोचना भएपछि अध्यागमनले मंगलवार अर्को सूचना प्रकाशित गर्दै उक्त निर्णय स्थगित गरेको जनाएको छ ।

विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेशिन सोमबार जडानको काम सुरु भइसकेको र अब पर्यटकहरुले अनअराइभल भिसाका लागि नगदै बोकेर आउनुपर्ने प्रावधान हटाइएको हो ।

विमानस्थलले अनअराइभल भिसाका लागि नगद बोक्नुपर्ने प्रावधान हटाइएपछि नेपाल आउने विदेशी पर्यटकका लागि सहज हुने अपेक्षा लिइएको छ ।

विमानस्थलको अध्यागमन कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकको सहजताका लागि भन्दै राष्ट्रिय वाणिज्य बैंकका दुईवटा एटीएम मेशिन र दुईवटा पीओएस मेशिन थप गर्न लागिएको छ ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभु बैंकको एउटा एटीएम मेशिन मात्रै भएको र उक्त मेशिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आएको थियो ।

मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार लिएर आउनेको संख्या बढेपछि पर्यटकले विमानस्थलमा सास्ती भोग्नुपरिरहेको छ ।

उक्त समस्या नआओस् भन्नको लागि विभागले सार्वजनिक सूचना नै जारी गरेको जनाएको थियो । सूचना सार्वजनिक भएपछि सामाजिक सञ्जालबाट विरोध गरिरहेका थिए ।

विमानस्थलमा रहेको एउटामात्र एटिएम कार्डमा धेरै भिडभाड हुने भएकाले भिजा कार्ड र मास्टर कार्डबाट पैसा निकाल्न कठिन हुँदै आएको छ ।

पछिल्लो समय कोरोनाका कारण रोकिएको पर्यटक आवागमन बढेको छ। पर्यटक बढे पनि पूर्वाधार नहुँदा पर्यटकले विमानस्थलमा सास्ती भोगिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here