यी हुन् धेरै आयात भएका १० वस्तु, पेट्रोलियम पदार्थ मात्र दुई खर्बको

काठमाडौं, ९ वैशाख । चालू आर्थिक वषको ९ महिना (साउन-चैत) सम्म व्यापार घाटा १३ खर्ब रुपैयाँ नाघि सकेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत मसान्तसम्म १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।

गत वर्षको तुलनामा चालु आवमा सुरुदेखि नै वस्तुहरुको आयात उल्लेख्य रुपमा वृद्धि हुँदा व्यापार घाटा चुलिएको हो । नेपालको वैदेशिक व्यापारमा निर्यात र आयतबीचको खाडल बढुदै जाँदा व्यापार घाटा बढीरहेको छ।

यसरी बढीरहेको खाडलको कारण मुलुकको चालु खाता घाटामा गइरहेको छ भने अर्कोतिर विदेशी मुद्राको संचितीमा पनि यसले खसर पारिरहेको छ।

विभागका अनुसार चालु आवको ९ महिनामा कुल अवधिमा नेपालले विभिन्न देशबाट १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख १ हजार रुपैयाँको वस्तु आयात गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो नौ महिनामा नेपालको आयात ३१.९७ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ ।

चालु आवमा सबैभन्दा धेरै डिजेल आयात भएको छ । चैत मसान्त सम्ममा १ खर्ब ५ अर्ब ९७ करोड ५३ लाख ९५ हजार रुपैयाँको डिजेल आयात भएको छ ।

४७ अर्ब २३ करोड ९७ लाख ८० हजार रुपैयाँको पेट्रोल र ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रुपैयाँको एलपीजी ग्यास नेपाल भित्रिएको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष भारतबाट नेपालले कूल १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको इन्धन आयात गरेको थियो ।

अघिल्लो एक वर्षमाभन्दा यसवर्षको पहिलो नौ महिनामा नेपालले ३८ अर्ब १ करोड ३२ लाख ३३ हजार रुपैयाँ बढीको इन्धन आयात गरिसकेको छ ।

त्यसैगरी,४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाविन तेल, ३८ अर्ब, ५३ करोड ५१ लाख ५५ हजार रुपैयाँ बराबरको स्टीलका सामग्री, ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँ बराबरको टेलिफोनका उपकरण आयात भएको छ ।

३२ अर्ब ४ करोड ७८ लाख ५७ हजार रुपैयाँ बराबरको पाम तेल, ३१ अर्ब ८५ करोड ३६ लाख ४२ हजार रुपैयाँ बराबरको खोप र २८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको सुन आयात भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here