प्रधान सेनापतिलाई उर्जा मन्त्रीको आग्रह-‘सेनाको भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्नुस्’

काठमाडौं, ११ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।

आइतबार मन्त्रालयमा भएको भेटमा उनले सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिइन् । ‘अब नेपाली सेनाका भान्सामा जलविद्युत नै प्रयोग गरौँ, त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ ।’

मन्त्री भुषालले सेनाले प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्नेगरी निर्णय लिन पनि आग्रह गरिन । साथै आफूले निरन्तर विद्युत खपत र निर्यातलाई जोड दिइरहेको उल्लेख गरिन् ।

विद्युत खपत हुँदा हाम्रो पूँजी बाहिर नजाने उनको ठहर छ । नेपाली सेनाले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्दै आएको र आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगादन रहने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा महारथी शर्माले नेपाली सेनाको भान्सा विद्युतिकरणतर्फ अगाडि बढेको र आगामी दिनमा त्यसलाई पूर्णरूपमा लागू गर्दै लैजाने विश्वास दिलाए ।

‘हामीले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न शुरु गरेका छौँ, आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजाने छौँ ।’

महारथी शर्माले नेपाली सेनाले प्रयोग गर्दै आएको पेट्रोलियम सवारी साधनलाई विद्युतीयमा ‘कन्भर्ट’ गर्न शुरु गरिसकेको जानकारी दिए । उनले भने ‘मैले विद्युतीय गाडी नै चढ्छु, आगामी दिनमा खरिद गर्ने सवारी साधन विद्युतीय नै हुनेछ ।’

वातारण संरक्षण र देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि विद्युत खपत बढाउनुपर्ने आफ्नो स्पष्ट धारणा रहेको बताए ।

नीतिगत रूपमै सरकारले निर्णय गरे नेपाली सेनाले पनि जलविद्यत विकासमा पनि लगानी गर्न सक्ने समेत बताए । महारथी शर्माले जलविद्युत परियोजनाको विकासमा नेपाली सेनाले सहजीकरण गर्ने विश्वास दिलाए ।

छलफलमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थिती थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here