‘अर्थतन्त्रले खतरनाक मोड लिएको छ, गम्भीर भएनौं भने दुर्घटनामा जानसक्छौं’- पूर्वगभर्नर

काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलकबहादुर रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवका विशेष अतिथिको रुपमा उपस्थित पूर्वगभर्नर रावललले उक्त कुरा बताएका हुन् ।

विश्व अर्थतन्त्रलाई विभिन्न समयमा मार परेको तथा विश्व व्यापारमा केही नकारात्मक असर परेको हुँदा यसको प्रभाव नेपालमा पनि रहेको बताएका हुन् ।

उनका अनुसार नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बेला सरकारले गर्नुपर्ने काम गर्न सकेको छैन । साथै, व्यवसायीले अपेक्षा गरेका सुविधा नपाइरहँदा राष्ट्र बैंकले केही राहत दिएको बताएका छन् । अर्थतन्त्रका सुचकहरू हेर्दा सचेत रहने बेला आएको बताउँदै चिन्ता व्यक्त गरेका छन् ।

‘एक वर्षको बजेटभन्दा बढी व्यापार घाटा हुने बेला आयो, भुक्तानी सन्तुलनको अवस्था र चालु खाताको अवस्था खस्किदो छ, कुनै पनि सुचक सन्तोषजनक छैन,’ उनले भने ।

मुद्रास्फीति नियन्त्रण बाहिर जाँदै गरेको उनले औँल्याए । ‘खतरनाक मोड लिएको छ । दुर्घटना हुनसक्छ । सबै मिलेर समन्वय गरेर जाऊँ,’ उनले भने, “युवराज खतिवडाले पनि तपाईंको बेलामा नराम्रो थियो भन्दा स्वीकार गरे । अहिले झनै खराब छ । वार्षिक बजेटभन्दा बढी व्यापार घाटा हुने अवस्था आइसक्यो ।’

भुक्तानी सन्तुलन र चालु खाता विगतभन्दा खस्कँदो अवस्थामा रहेको उनले बताए । ‘कुन तथ्यांकलाई हेरेर राहतको सहस लिने ? ढाकछोपमा कति लाग्ने ? के निर्यात गर्ने ? उत्पादन के छ ? उत्पादनमा जोड नदिए केही उपाय नै छैन,’ उनले भने, ‘धेरै बोल्दा रिसराग गर्लान् !’

गभर्नर निलम्बनको विषयमा बोल्दै रावलले आफूलाई पनि २० वर्षअघि सरकारले अन्याय गरेको र अहिले पनि त्यस्तै घटना दोहोरिएको बताएका थिए। ‘म पनि २० वर्षअघि पिडित भएको थिए। अहिले पनि गभर्नर अधिकारीलाई अदालतले फर्काएको छ’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here