२५ हिमाल आरोहणका लागि ८९९ जनाले लिए अनुमति, सबैभन्दा धेरै अमेरिकी नागरिक

काठमाडौं, १८ वैशाख । वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि ८९९ जना आरोहीले आरोहण अनुमति लिएका छन्।

पर्यटन विभागको तथ्यांक अनुसार शुक्रवारसम्ममा अनुमति लिनेमा १११ टिमका ७०४ जना पुरुष र १९५ जना महिला रहेका छन् ।

यो सिजनमा २५ वटा हिमाल आरोहणका लागि ८९९ आरोहीले अनुमति लिँदा ४६ करोड ७५ लाख सात हजार ६७१ रुपैयाँ राजस्व रोयल्टी संकलन भएको छ । हिमाल आरोहणको अनुमतिबाट सबैभन्दा धेरै रोयल्टी सगरमाथा हिमालबाट उठेको छ ।

विभागले आरोहण अनुमति दिएका हिमालमध्ये सबैभन्दा बढी सगरमाथा आरोहणका लागि २१ वटा टिमका ३१६ जनाले अनुमति लिँदा ३९ करोड ५५ लाख ५ हजार रोयल्टी उठेको हो ।

त्यस्तै सबैभन्दा कम रोयल्टी उर्कमङ हिमाल आरोहणका लागि एउटा टिमले अनुमति लिँदा ६० हजार ६२५ रुपैयाँ रोयल्टी उठेको छ ।

अमेरिकाबाट मात्र १३३ जनाले अनुमति लिएको विभागले जनाएको छ । यो संख्या सगरमाथासहित अन्य सबै हिमाल चढ्न लिएको अनुमति हो । अमेरिकाबाट २७ महिला र १०६ जना पुरुष आरोही नेपाल आएका छन् ।

विभागक अनुसार दोस्रो स्थानमा बेलायत रहेको छ । बेलायतबाट १०६ जना, तेस्रो स्थानमा नेपाली नागरिक छन् ।

६३ जना नेपालीले आरोहणमा जाने गरि विभागबाट स्वीकृति लिएको देखिएको छ । भारतबाट ६० जना, फ्रान्सबाट ५६ जना रहेको विभागको तथ्यांक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here