वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा बिक्री गर्न टेन्डर आहृवान

काठमाडौं, २३ वैशाख । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ ।

प्राधिकरणले शुक्रबार टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो ।

प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात् १७ असारदेखि २९ कात्तिक २०७९सम्म बिक्री गर्ने छ ।

नेपालबाट विद्युत खरिद गर्न इच्छुक कम्पनीहरुले आगामी १३ जेठ मध्यान्ह १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ ।

इच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेश गर्न नसक्ने व्यवस्था गरिएको छ । कम्पनीहरुले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रुपैयाँ (४८ हजार रुपैयाँ) प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नु पर्ने छ ।

भारतले नेपालका ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ ।

देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुने छ ।

नेपालले प्राधिकरणको स्वामित्वका त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’,मध्यमस्र्याङ्दी, मस्र्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लि.को लिखु–४बाट उत्पादित ३६४ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here