‘मुलुकको अर्थतन्त्रसही दिशामा छ, आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुन्छ’

काठमाडौं, २४ वैशाख । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा.सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने दाबी गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले तथ्याङ्क विभागले आर्थिक वृद्धिदरमा प्रक्षेपण गरेको भन्दा बढी हुने बताएका हुन् ।

उनले अहिले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको बताए । आर्थिक सल्लाहकार उप्रेतीले अर्थतन्त्रको बाह्य क्षेत्र र मुद्रास्फितिमा दबाब रहेको स्वीकार गर्दै यो समस्या चाँडै समाधान हुने बताए ।

उनले कोरोना महामारीपछि बैंक तथा वित्तिय संस्थाहरुबाट उच्च कर्जा लगानी हुँदा पनि अहिले अर्थतन्त्रमा केही समस्या देखिएको बताए ।

मौद्रिक नीतिले १९ प्रतिशत कर्जा लगानी हुने अनुमान गरे पनि केही समय अगाडि ३८ प्रतिशतसम्म पुगेको बताए । निर्यातभन्दा आयात बढेकाले वाह्य क्षेत्रमा दबाब परेको उनको भनाइ छ ।

आर्थिक सल्लाहकार उप्रेतीले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान भए पनि रुस र युक्रेनको युद्धको कारणले ७.१ प्रतिशतको मूल्यवृद्धि भएको उल्लेख गरे ।

उनले सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि र उत्पादन रोजगारीमा केन्द्रित हुने बताए । उनले बाह्य क्षेत्रमा सन्तुलनमा ल्याउनको लागि भए पनि अबको बजेटमा कृषि, रोजगारी र उत्पादनमूलक क्षेत्र केन्द्रित हुनु आवश्यक रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here