रामपुरमा इञ्जिनीयरिङ क्याम्पस खाेल्ने त्रिविकाे याेजना, १६ अर्ब लाग्ने

काठमाडौं २९ असार । त्रिभुवन विश्वविद्यालयले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने भएको छ ।

हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको त्रिभुवन विश्वविद्यालयकाे जग्गामा उक्त क्याम्पस सञ्चालन गर्न लागिएको हो । उक्त विश्वविद्यालयको इञ्जिनीयरिङ सङ्कायको यो पाँचौँ आङ्गिक क्याम्पस हो ।

विश्वविद्यालयका इञ्जिनीयरिङ सङ्कायका डिन प्रा रामचन्द्र सापकोटाले अन्य क्याम्पससँगै प्रस्तावित क्याम्पसका रुपमा रहेको चितवन इञ्जिनीयरिङ क्याम्पसको नाम राखेर प्रवेश परीक्षाको सूचना प्रकाशित गरिएको जानकारी दिए ।

उक्त विश्वविद्यालयले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई उपलब्ध गराएर बाँकी रहेको ४० बिघा जमीनमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्न लागेको हो । सो स्थानमा रहेको त्रिविको कृषि क्याम्पस हटेपछि इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गरिने छ ।

सापकोटाका अनुसार रामपुरमा उक्त क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयको कार्यकारी परिषद् र मन्त्रिपरिषद्ले निर्णय गरिसके पनि भौतिक संरचना बनिनसकेका कारण समयमै बजेट निकासा नभए यसै शैक्षिकसत्रबाट क्याम्पस सञ्चालन गर्न कठिन हुनेछ । कम्तीमा एउटा कार्यक्रम भए पनि यसै शैक्षिकसत्रबाट सञ्चालन गर्ने तयारी विश्वविद्यालयले गरेको छ ।

विश्वविद्यालयले रामपुरका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत सरकारसँग पहिलो चरणका लागि तत्काल रु १५ करोड माग गरेको र यसै शैक्षिकसत्रको पढाई मङ्सिर १ गतेदेखि गर्ने तयारी गरिरहेको छ ।

यो समयमा एउटा कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार बनाउनुपर्ने भएकाले तत्काल सरकारले बजेट उपलब्ध गराएमा सम्भव हुने भन्दै प्रवेश परीक्षाको सूचनामै प्रस्तावित क्याम्पसको नाम राखिएको हो । रामपुरमा सात वटा कार्यक्रम सञ्चालन गर्ने तयारी विश्वविद्यालयको भएको उनले जानकारी दिए ।

सम्पूर्ण कार्यक्रम सञ्चालन गर्न १९१ प्राध्यापक र १२८ कर्मचारी आवश्यक पर्ने, काठमाडौँको पुल्चोक र पोखरामा रहेका इञ्जिनीयरिङ क्याम्पस जस्तै व्यवस्थित क्याम्पस रामपुरमा पनि निर्माण गर्न लागिएकाले रु १६ अर्ब हाराहारी खर्च लाग्ने विश्वविद्यालयको अनुमान छ ।

रामपुरमा क्याम्पस सञ्चालनका लागि भरतपुर महानगरपालिकाले आवश्यक सहयोग गर्ने जनाउँदै आएको छ । महानगरप्रमुख रेनु दाहालले आवश्यक बजेटका लागि सरकारसँग पहल गर्ने र नपुग केही बजेट आवश्यक भएमा महानगरले पनि सहयोग गर्ने बताए ।

रामपुरमा त्रिभुवन विश्वविद्यालयको इञ्जिनीयरिङ क्याम्पस सञ्चालनका लागि आफू महानगरप्रमुख भएदेखि नै पहल गर्दै आएको जानकारी दिँदै उनले यसै शैक्षिकसत्रबाट कक्षा सञ्चालनका लागि आवश्यक पहल र सहयोग गरिने जानकारी दिईन् ।

विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँ चितवनवासी हुन् । कार्यकाल सकिनै लाग्दा रामपुरमा इञ्जिनीयरिङ क्याम्पस शुरु गर्ने धोको आफूमा रहेको खनियाँले बताउँदै आएका
छन् ।

इञ्जिनीयरिङतर्फ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका १० निजी क्याम्पस छन् । विश्वविद्यालयले यसै वर्ष केमिकल इञ्जिनीयरिङ विषयसमेत पढाउने तयारी गरेको छ । योसँगै इञ्जिनीयरिङ सङ्कायमा १२ विषयको पढाई हुने भएको छ ।

विद्यार्थीको पहिलो रोजाइमा त्रिभुवन विश्वविद्यालयको आङ्गिक इञ्जिनीयरिङ क्याम्पस पर्ने गर्दछ ।(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here