निर्यात ६९.४ प्रतिशतले वृद्धि, अलैंची, चिया, मञ्जन लगायतको माग घट्यो

काठमाडौं, २८ वैशाख । आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा कुल वस्तु निर्यात ६९।४ प्रतिशतले वृद्धि भई रु.१६० अर्ब ५७ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ९ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।

आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भई रु.१४६६ अर्ब ६६ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्ट्स, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २८.५ प्रतिशतले वृद्धि भई रु.१३०६ अर्ब ९ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १०.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. १६७ अर्ब ५३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. १३९ अर्ब २८ करोड बराबरको भएको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.८ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, तार, दन्त मञ्जन, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

वैदेशिक व्यापारको संरचना

वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.२ प्रतिशत र ५२.७ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३१.८ प्रतिशत, ०.५ प्रतिशत र ६७.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.२ प्रतिशत, पुँजीगत वस्तुको १०.५ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.४ प्रतिशत, ११.७ प्रतिशत र ३४.८ प्रतिशत रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here