काठमाडौं, १ जेठ । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएर पठाएपछि चर्को मूल्यवृद्धि गरेको आयल निगमको घाटा भने घटेको छैन् ।
नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार मूल्य समायोजनपश्चात् पनि निगमलाई १५ दिनमा करीब ४ अर्ब २५ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको जनाएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाएको छ । निगमलाई उच्च घाटा खाना पकाउने ग्यासमा छ ।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
तर, ग्यासको मूल्य भने बढाइएको छैन ।
इन्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।
सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने जानकारी दिएको छ ।