सुस्तायो घरजग्गा कारोबार , एक महिनामा ४ अर्ब ४८ करोड राजस्व संकलन

काठमाडौं, ३ जेठ । नयाँ वर्षसँगै चुनावी माहोलले पनि घरजग्गा कारोबारमा उत्साह आएको छैन। तरलता अभावका कारण बैंकहरुले घरजग्गामा लगानी गर्न छाडेपछि वैशाखमा कुल ४४ हजार घरजग्गा कारोबार भएका छन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले वैशाखमा मात्रै ४ अर्ब ४८ करोड राजस्व उठाएको हो। वैशाख महिनामा सेवा कर, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, विलम्ब शुल्कबाट राजस्व उठेको छ।

लिखित पारित ४४ हजार ८०३, नामसारी ३ हजार २०३, संशोधन २ हजार ५१३, हाल साबिक १ हजार ८६०, रोक्का २३ हजार ३३५, फुकुवा १५ हजार १३१, अपार्टमेन्ट लिखित पारित ४१ वटा भएका छन्।

बढी कारोबार हुनेमा झापाको भद्रपुरमा ३ हजार ६७५, मोरङको बेलबारी ३ हजार ६३९, लगनखेल ललितपुर ३ हजार ३३१ सय घरजग्गा कारोबार भएका छन्।

गत फागुनमा पनि घरजग्गा कारोबारमा साउनयताकै रेकर्ड बनेको थियो। माघ महिनासम्म सुस्ताएको घरजग्गा कारोबार फागुन र चैत दुवै महिना चम्किएको थियो। बैंकहरूले ऋण लगानी नगर्दा पनि फागुन र चैतमा घरजग्गा कारोबार बढेको थियो।

विभागले दिएको तथ्यांकअनुसार फागुनमा ७४ हजार ३६ घरजग्गा किनबेच भएको थियो। माघ महिनामा जम्मा ५९ हजार ५ सय १६ वटा मात्रै घरजग्गा किनबेच भएको थियो।

यसअघि कात्तिकमा ५० हजार घरजग्गा किनबेच भएको थियो। पुस महिनामा ७० हजार १ सय ६८ घरजग्गा किनबेच भएको थियो। बैंकहरूमा तरलता अभाव भएपछि घरजग्गा कारोबारमा मन्दी आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here