अब ११०० रुपैयाँमै वर्ल्डलिङ्कको २०० एमबीपीएस इण्टरनेट

काठमाडौं, ५ जेठ । इण्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुने गरि ३३ सय रुपैयाँमै २०० एमबीपीएसको तीन महिने इण्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।

नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै यो सस्तो दरको इण्टरनेट प्याकेज ल्याएको हो ।

ग्राहकका लागि यो प्याकेज बजारमा उपलब्ध भएकामध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ ।

यो प्याकेज लिन चाहने ग्राहकलाई इण्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ । केवल राउटरका लागि १ हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने वर्ल्डलिङ्कले जानकारी दिएको छ ।

‘राउटर डिपोजिट र इण्टरनेट शुल्क बाहेक ग्राहकले थप अन्य कुनै पनि शीर्षकमा शुल्क तिर्नु पर्दैन,’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ यो नयाँ प्याकेजबाट विशेषगरि नेटटिभी आवश्यक नपर्ने ग्राहक लाभान्वित हुने अपेक्षा लिएका छौँ ।’ २०० एमबीपीएसको यो नयाँ प्याकेजमा नेटटिभी बाहेकका सुविधा भने उपलब्ध हुने बताइएको छ ।

जसअनुसार ग्राहकले पाँच ओटा डिभाइसमार्फत कम्पनीका १४ हजारभन्दा बढी वाईफाई हटस्पटमा अनलिमिटेड डेटा चलाउन सकिने ‘वाईफाई मोबिलिटी’को सुविधा पाउनेछन् । यसका साथै ‘तुरुन्तै सर्भिस ग्यारेन्टी’ को रुपमा इण्टरनेटमा समस्या आउँदा दुई घण्टाभित्र समाधान नभए थप दुई दिनको इण्टरनेट सुविधा समेत उपलब्ध हुनेछ ।

यस बाहेक ‘टाइम ब्याक’ अर्थात् इण्टरनेट अवरुद्ध भएको समय समेत थप हुने कम्पनीले जनाएको छ । यो प्याकेज विद्यमान ग्राहकहरूका लागि समेत उपलब्ध रहेको छ ।

गुणस्तरीय सेवा कायम गर्दै ग्राहकका लागि सस्तो मूल्यमा उच्च गतिको इण्टरनेट उपलब्ध गराउन लागिपरेको कम्पनीले बताएको छ । नेटटिभी आवश्यक पर्ने ग्राहकले भने चार हजार ५० रुपैयाँमा कम्पनीको २०० एमबीपीएसको तीन महिने प्याकेज लिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here