काठमाडौं, ५ जेठ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ।
गत वैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्य निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ।
गत वैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले वृद्धि भएको देखिन्छ। २७ वाणिज्य बैंकहरुमध्य १९ वटा वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने ८ वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ।
वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ६.२३ प्रतिशत रहेको छ। त्यसैगरि २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ। औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४३ प्रतिशतले वृद्धि भएको देखिन्छ। वैशाख मसान्तसम्मा वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयां पुगेको छ भने कुल कर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयां पुगेको छ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा १८ वटा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशतभन्दा बढी छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने राष्ट्र बैंकले तोकेको सीमाभित्र नै (८९.६५ प्रतिशत) रहेको छ।
औसतमा वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८८ प्रतिशत रहेको छ।
नेपाल अधिराज्यभर २१३ शाखाहरु, १७० एटीएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।
विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल अधिराज्य बैंकिङ सेवा प्रदान गरिरहेको छ।
दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैकप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।
निक्षेपमा उच्च ब्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकका बचत एवं मुद्दती खाताहरुमा निक्षेप कर्ताहरुको आकर्षण बढिरहेको छ।





















