नेशनल लाइफले सिन्धुपाल्चोकमा बन्ने सामुदायिक अस्पताललाई वार्षिक २० लाख सहयोग गर्ने

काठमाडौं, ५ जेठ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक सहयोगमा सिन्धुपाल्चोकमा सामुदायिक अस्पताल बन्ने भएको छ ।

इन्स्योरेन्सले सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पताल स्थापना गर्न वार्षिक २० लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।

सो सम्बन्धमा इन्स्योरेन्स र एक एक पाईला फाउण्डेशनबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र फाउण्डेशनका तर्फबाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र व्यवस्थापन हुनेछ भने अस्पतालको संचालनको लागि इन्स्योरेन्सले तीन वर्षको अवधिको लागि प्रत्येक वर्ष २० लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछ ।

यससँगै १५ शैय्याको सामूदायिक अस्पतालको सञ्चालन भै उक्त क्षेत्र वरिपरि रहेका करीब ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने कम्पनीको विश्वास छ ।

समारोहमा डा. सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद दिएका छन् । कम्पनीको तर्फबाट खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई शिक्षा, स्वास्थ्य, दैवि प्रकोप ब्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रमा विगत वर्षहरुदेखि नै चासो राखी आर्थिक सहयोग उपलब्ध गर्दै आएको संस्मरण गराएका छन् ।

स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको प्रतिष्ठित एक एक पाईला फाउण्डेशन वि.सं.२०७२ साल देखि नेपालको दुर्गम क्षेत्रहरुमा निशुल्क स्वास्थ्य सेवाहरु उपलब्ध गर्दै आइरहेको एक गैर सरकारी संस्था हो ।

नेपाली स्वयं सेवकहरु कार्यरत रहेको उक्त फाउण्डेशनले स्थानिय सरकार र स्थानिय साझेदारहरुको सहकार्यमा विशेष गरी दुर्गम क्षेत्रहरुमा स्वास्थ्य शिविरहरु स्थापना गरी उल्लेखनीय स्वास्थ्य सेवा पुर्याई आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here