मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइनमा उच्च भोल्टेजको विद्युत प्रवाह गरिने

काठमाडौं, ६ जेठ । मर्स्याङदी- काठमाडौं २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तनहुँको मार्किचोकमा सवस्टेसन भएको टावरमा उच्च भोल्टेजको विद्युत प्रवाह गरिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले तनहुँको मार्किचोकदेखि गोरखा, चितवन र धादिङहुँदै काठमाडौंको वाण भञ्ज्याङसम्मको सो प्रसारण लाइनको निर्माण कार्य पुरा भएको तथा विद्युत प्रवाह गर्न लागिएको जानकारी दिएको हो ।

साथै प्राधिकरणले उक्त प्रसारण लाइनको टावर तथा तारहरुमा छुने, टावरमा चढ्ने लगायत कार्य नगर्न आग्रह गरेको छ ।

साथै प्रसारण लाइनको मार्गाधिकार अर्थात राइट अफ वे केन्द्रबाट १५ मिटर दायाँ वायाँ भित्र घरटहरा निर्माण नगर्न तथा बोटविरुवा हटाउन आवह्वान गरेको छ ।

साथै सूचनालाई अटेर गरेर बन्देज गरिएका क्रियाकलापहरु गरेको कारण कुनै विद्युतीय दुर्घटना भई हुनसक्ने कुनै पनि क्षतिको जिम्मेवार प्राधिकरण नहुने बताएको छ ।

सो २२० केभी प्रसारण लाइन ८२ किमी लम्बाइको छ । प्रसारण लाइनतनहुँको मार्किचोक, चितवनको इच्छाकामना, गोरखाको देउराली,मनकामना तथा घ्याल्चोक, धादिङको बेनिघाट, कुम्पुर, बैरेनी गोगनपानी, केवलपुर र नौविसेमा प्रसारण लाइन तयार गरिएको हो । सो प्रसारण लाइन काठमाडौंको वाडभञ्ज्याङसम्म जोडिएको छ ।

मस्र्याङदी करिडोर क्षेत्रमा उत्पादन हुने विद्युतलाई काठमाडौँसहित पोखरा, चितवनलगायतका मुख्य शहरसम्म पुर्‍याउन बढी क्षमताको प्रसारण लाइन निर्माण गरिएको र यसबाट प्राविधिकरूपमा हुने चुहावट कम हुनेछ । आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणको जिम्मा भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडले पाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here