कमजोर धरातलमा निर्यात व्यापार, प्रशोधित तेलको भरोसा

काठमाडौं,७ जेठ । नेपालको निर्यात व्यापार निकै कमजोर धरातलमा रहेको देखिएको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा नेपालले कुल एक खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।

गत वर्षको यसै अवधिमा मात्र १ खर्ब ८ अर्ब रुपैयाँको निर्यात भएको थियो । नेपालबाट हुने निर्यातको वृद्धि ५९.८ प्रतिशत छ । यसरी बढेको निर्यातको धरातल भने कमजोर देखिएको छ । यस अवधिमा नेपालले प्रशोधित तेलका माध्यमबाट सबैभन्दा बढी निर्यात गर्न सकेको देखिएको छ ।

१० महिनाको अवधिमा भटमासको प्रशोधित तेलमात्र ४५ अर्ब ३५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । दोस्रो स्थानमा प्रशोधित पाम तेल रहेको छ । चालु आवको १० महिनामा ३७ अर्ब ९४ करोड रुपैयाँ बराबरको निर्यात पाम तेलको भएको छ । सेन्थेटिक यार्नको निर्यात १० अर्ब १४ करोड रुपैयाँ बराबरको भएको तथ्यांक छ ।

नेपालको निर्यातमा दीगो भूमिका खेल्ने उनी गलैंचा कार्पेट चौथो स्थानमा छ । यस अवधिमा मात्र ७ अर्ब ७१ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ ।

तयारी कपडा ५ अर्ब ७६ करोड रुपैयाँ , जुटका बुनिएका कपडा ५ अर्ब २१ करोड रुपैयाँ, फलफूलको जुस ४ अर्ब ६३ करोड रुपैयाँ, सूर्यमुखीको प्रशोधित तेल ४ अर्ब २९ करोड रुपैयाँ, अलैंची ४ अर्ब २२ करोड रुपैयाँ र जमोठ कपडा ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here