१ करोड नाघ्यो टेलिकमका फोरजी प्रयोगकर्ता

काठमाडौं, ७ काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड भन्दा बढी पुगेको छ । २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९ सय ७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५ सय ८० रहेको कम्पनीले जानकारी दिएको छ ।

समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७ सय ८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २२९ टुजी प्रविधिका ग्राहक छन् । अघिल्लो महिना अर्थात २०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८ सय ७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७ सय २९ रहेको थियो ।

नेपाल टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट शुरु गरेको फोरजी\एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ ।

फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड पनि सेवा चल्ने हुनु पर्दछ । फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी छ । आफ्नो मोबाइल फोनबाट स्टार ४४४ हयास डायल गरी प्राप्त निर्देशन अनुरुप फोरजी सेवा प्रयोग गर्न सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र फोरजी एक्टिभेट गरी सेवा सुचारु समेत गर्न सकिन्छ ।

कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुन्छ । मोबाइल सेट खरिद गर्दा उक्त सेटको प्राविधिक विवरण (स्पेसिफिकेसन) हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी थाहा पाउन सकिन्छ । त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ ।

मोबाइल इन्टरनेटको क्षेत्रमा एलटीइ भनिने फोरजी प्रविधि मोबाइलमार्फत उच्च गतिको इन्टरनेटका साथै उच्च गुणस्तरको भ्वाइस कल सेवा पनि उपयोग गर्न सकिने अत्याधुनिक प्रविधि हो । यसबाट तीब्र गतिको इन्टरनेट प्राप्त हुने भएकाले गुणस्तरीय श्रव्य–दृश्य सामाग्रीहरु, गेम लगायत बढी ब्याण्डविथ आवश्यक हुने सामग्रीहरु सजिलै प्रयोग गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here