आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा महँगीको नयाँ रेकर्ड

काठमाडौं । अप्रिल महिनामा पेट्रोलको अभाव र खाद्यान्नको मूल्य ह्वात्तै बढेसँगै श्रीलंकाको मुद्रास्फीतिले लगातार सातौँपटक उच्च रेकर्ड कायम गरेको सोमबार सार्वजनिक यहाँको सरकारी तथ्याङ्कले देखाएको छ।

राष्ट्रिय उपभोक्ता मूल्य सूचीमा अप्रिलमा गत वर्षको तुलनामा ३३.८ प्रतिशत वृद्धि भएको र यो एक वर्ष पहिलेको ५.५ प्रतिशत मुद्रास्फीतिभन्दा छ गुणा बढी रहेको तथ्याङ्कले देखाएको छ।

जनसङ्ख्या तथा तथ्याङ्क विभागले जारी गरेको पछिल्लो रिपोर्टअनुसार खाद्यान्नमा वार्षिक मूल्यवृद्धि ४५.१ प्रतिशत देखिएको छ।

विदेशी मुद्रा सङ्कटले गर्दा देशका दुई करोड २२ लाख मानिसहरूले महिनौंदेखि खाद्य तथा औषधिसहित आधारभूत सामग्रीको तीव्र अभावको सामना गरिरहेको यो एसियाली मुलुकमा अप्रत्याशित आर्थिक उथलपुथलपछि राष्ट्रपति गोताबाय राजपाक्षको कार्यालय बाहिर उनको राजीनामा माग गर्दै विरोध प्रदर्शन भएका छन्।

पेट्रोलको ३५ प्रतिशत र साधारणतया सार्वजनिक यातायातमा प्रयोग गरिने डिजलको ६५ प्रतिशत इन्धनको मूल्य वृद्धिले अर्थ व्यवस्थामा व्यापक प्रभाव पर्दा मे महिनामा अझ मूल्यवृद्धि हुने सम्भावना छ।

पेट्रोल वितरण गर्ने केही पम्पिङ स्टेसन बाहिर लामो लाम लागेकाले पेट्रोलको आपूर्ति अझै कम रहेको पुष्टि भएको छ।

श्रीलंकाले गत महिना अन्तर्राष्ट्रिय मुद्रा कोषलाई आपत्कालीन सहयोगका लागि आग्रह गरेको थियो। यो अवधिमा उसले आफ्नो ५१ अर्ब अमेरिकी डलर बाह्य ऋण चुक्ता गरेको छ र कमजोर अर्थतन्त्रलाई पुनर्जीवित गर्न अन्तरराष्ट्रिय सहयोगको खोजी गरिरहेको छ।

कोरोनाभाइरस महामारी सुरु भएदेखि नै पर्यटन राजस्व र विदेशमा रहेका श्रीलङ्काली नागरिकबाट प्राप्त हुने रेमिट्यान्समा आएको गिरावटका कारण श्रीलङ्काको अर्थतन्त्र धरासायी बन्दै गएको छ। रासस/एएफपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here