पर्यटक आगमन ७४ प्रतिशतले सुधार, बंगलादेशी नागरिकको आगमन उत्साहजनक

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी कम भएपछि पर्यटक आगमनमा उल्लेख्य सुधार देखिन थालेको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणी लामिछानेका अनुसार सन् २०१९ र सन् २०२२ को तुलना गर्दा मे महिनामा मात्र पर्यटक आगमन ७४ प्रतिशतले रिकोभर भएको छ ।

सन् २०२२ को मे महिनामा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा यस्तो आगमन ७२ हजार १५६ रहेको थियो । सो वर्ष पर्यटनमा कुनै पनि बाह्य कारणको प्रभाव थिएन । सामान्यतया मे महिना पर्वतारोहण सम्पन्न हुनु र वर्षात सुरु हुने समय हो ।

नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा आएको ५३ हजार ६०८ जना पर्यटक अघिल्लो महिनाको तुलनामा ४ हजार ७७६ जना कम हो । अप्रिल महिनामा ५८ हजार ३८४ जना पर्यटक नेपाल आएका थिए ।

सन् २०२२ को पहिलो ५ महिनामा १ लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका छन् । मे २०२२० मा भारतबाट मात्र २६ हजार ६६२ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिकी नागरिकको संख्या धेरै छ ।

मे महिनामा अमेरिकाबाट मात्र ७ हजार २७४ जना पर्यटक नेपाल आएको देखिएको छ । तेस्रो स्थानमा बंगलादेश रहेको छ । यस मुलुकबाट ३ हजार २६८ जना नागरिक मे महिनामा नेपाल आएका छन् । बेलायतबाट २ हजार ४५१ जना पर्यटक नेपाल आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here