बाघ नियन्त्रणको माग गर्दै सडकमा उत्रिएका स्थानीयमाथि प्रहरीले चलायो गोली

काठमाडौं २४ जेठ । बाघ नियन्त्रणको माग गर्दै सडकमा उत्रिएका स्थानीयमाथि प्रहरीले बर्दियामा गोली चलाएको छ।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको हो । अन्य चार जना स्थानीय घाइते भएका छन् ।

बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा बाघसहित वन्यजन्तुको आक्रमण बढेको भन्दै सोमबार दिउँसो स्थानीयले गुलरिया–राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द गरेका थिए।

स्थानीयले अवरुद्ध गरेको सडक खुलाउन परिचालन भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीयमाथि बल प्रयाग गर्दा घटना भएको हो।

मृतक नविनाको शव अहिले बर्दिया जिल्ला अस्पताल गुलरियामा राखिएको छ। उनका अभिभावक भने अझै प्रहरीको सम्पर्कमा नपुगेका प्रहरीले जनाएको छ।

स्थानीयले बाटो अवरुद्ध गरेको र खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीतर्फ हबल्दार पार्वता खड्कालगायतका घाइते भएका छन् ।

मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीका अनुसार सोमबार बिहान ८ बजेतिर खेतमा खनजोत गर्दै गर्दा स्थानीयलाई बाघले आक्रमण गरेको थियो ।

केही दिनअघि पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला पालको मृत्यु भएको थियो। सोमबार पुनः बाघले आक्रमण गरेपछि स्थानीयले सुरक्षाको माग गर्दै सडक अवरुद्ध गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here