काठमाडौंमा ४ आनाभन्दा कम हुनेगरी जग्गा कित्ताकाट गर्न नपाइने, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । सरकारले जग्गाको कित्ताकाटमा कडाइ गरेको छ । कृषियोग्य जमिन खण्डीकरण गर्ने क्रम बढेसँगै त्यसलाई नियन्त्रण गर्न सरकारले कित्ताकाटमा कडाइ गरेको हो ।

अब काठमाडौं उपत्यकामा घर बनाउनका लागि १३० वर्गमिटर अर्थात ४ आना भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू उपयोग नियमावली २०७९ सरकारले राजपत्रमा प्रकाशित गर्दै सो व्यवस्था लागु गरेको हो ।

राजपत्रमा उल्लेख व्यवस्था अनुसार अब काठमाडौं उपत्यकामा कृषि क्षेत्रको रुपका तोकिएको जग्गालाई झन्डै १ रोपनी अर्थात् ५०० वर्गमिटर (१५ आना २ पैसा )भन्दा कम क्षेत्रफल हुने गरी टुक्र्याउन नपाउने व्यवस्था गरेको छ । १ रोपनीमा ५०८.७२ वर्गमिटर हुन्छ ।

तर आकार वा क्षेत्रफल नमिलेको अवस्थामा सीमानाको अर्को कित्तासँग मिलान गर्न मिले कित्ताकाट हुन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै ५०० वर्गमिटरभन्दा सानो कित्ताको हकमा पनि चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुनेगरी कित्ताकाट गर्न पाइने छैन ।

नियमावलीमा काठमाडौं, तराई र मधेशबाहेक पहाडी तथा हिमाली भेगमा भने १ हजार वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने उल्लेख छ ।

कुनै कित्ताको आकार र क्षेत्रफल अमिल्दो भई सिमानानाको अर्को कित्ताकाट निश्चित क्षेत्रफल समावेश गरी प्लट मिलन गर्न उपयुक्त देखिएमा सोको प्लट मिलानको लागि कित्ताकाट गर्न सकिनेछ । त्यसरी प्लट मिलान गर्दा सम्बन्धित कित्तामै गाभिने गरी गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here