आठ स्थानमा ब्रोकरको शाखा विस्तार हुँदै, पूर्वाधार तयार गर्न बोर्डको निर्देशन

क्लाउडपत्रिका
काठमाडौं, २२ माघ । शेयर ब्रोकरहरुले उपत्यका बाहिरका थप आठ शहरहरुमा शाखा विस्तार गर्ने भएपछि शेयर लगानीकर्ताहरुलाई थप सजिलो हुने भएको छ । सेयर कारोबारलाइ मुलुकभर विस्तार गर्ने क्रममा थप ८ स्थानमा शाखा स्थापनाका लागि पूर्वाधार निर्माण गर्न नेपाल धितोपत्र बोर्डले ब्रोकरलाई निर्देशन दिएको छ ।

बोर्डले सोमबार विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । यसअघि बोर्डले शाखा विस्तार सम्बन्धमा थप नीतिगत व्यवस्था हुन लागेको भन्दै शाखा विस्तार रोकेको थियो ।

आर्थिक वर्ष ०७४/०७५ भित्र वोर्डमा शाखा कार्यालय खोल्ने निवेदन प्राप्त काठमाडौं उपत्यका वाहिरका महेन्द्रनगर (कञ्चनपुर), बिरेन्द्रनगर (सुर्खेत), घोराही, तुलसीपुर (दाङ), भैरहवा (रुपन्देही) र जनकपुर (धनुषा)मा शाखा कार्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार तयार गर्न बोर्डले निर्देशन दिएको छ ।

यसका लागि शाखावाट हुने कारोवार सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रिय कार्यालयमा आवद्ध भई नेप्सेको प्रणालीमार्फत हुने व्यवस्था गर्न पनि बोर्डले निर्देशन दिएको छ । हाल सञ्चालनमा रहेका अधिकांश शाखा कार्यालयको कारोबार ब्रोकरको केन्द्रीय प्रणालीमा आवद्ध नभएकाले बोर्डले यस्तो निर्देशन दिएको हो । हाल उपत्यका बाहिरका १३ जिल्लामा ४१ वटा शाखा मार्फत ब्रोकरले सेवा दिइरहेका छन् ।

धितोपत्र दलाल व्यवसायीले शाखावाट हुने कारोवार सम्वन्धित धितोपत्र दलाल व्यवसायीको केन्द्रीय कार्यालयमा आवद्ध भई नेप्सेको प्रणालीमार्फत हुने व्यवस्था हुन लागेको बोर्डको विज्ञप्तिमा उल्लेख छ ।
संघीय संरचना अनुसार मुलुकभर सेवा विस्तारका लागि पहल भइरहेकाले सोही व्यवस्था बमोजिम गरिने बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here