नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, सुरुङ खन्ने काम ५३ प्रतिशत सकियो

काठमाडौं, २६ जेठ । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम आधाभन्दा बढी काम सम्पन्न भएको छ ।

कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म २ हजार ९ सय १ मिटर खनिसकिएको हो।

यो भनेको कुल ५३ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भएको आयोजनाले जनाएको छ। नागढुंगा सुरुङमार्गको कुल २ हजार ६८८ मिटर मुख्य सुरुङमध्ये हालसम्म १ हजार २८३ मिटर खनिसकिएको छ ।

आयोजनाको काठमाडौंतर्फ ६६० मिटर र धादिङतर्फ ६२३ मिटर मुख्य टनेल खनिएको छ । त्यसैगरी, आपतकालीन (स्केप टनेल) सुरुङ अन्तर्गत हालसम्म १ हजार ४४४ मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ८३८ मिटर र धादिङतर्फ ६०६ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

हालसम्म आयोजनाको समग्रमा ३७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ४५.५० प्रतिशत प्रगति भएको छ ।

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ४८ मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३२ मिटर र धादिङतर्फ १६ मिटर निर्माण गरिएको छ ।

यो सुरुङमार्ग करिब २ हजार ६८८ मिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ ।

टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै २ हजार ५९८ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

नागढुंगा सुरुङमार्गको निर्माण अवधि २०७९ चैत २३ गतेसम्म रहेको छ । कोभिडका कारणले ढिलाइ हुन गएकोमा थप ८६ दिन म्याद थप गरिएको छ ।

उक्त समय अनुसार नागढुंगा सुरुङमार्गको कुल निर्माण सम्पन्न हुन अब १४ महिना बाँकी रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

त्यस्तै संरचनागत प्रगतिमा तीनवटा अन्डरपासमध्ये २ वटा सकिएको छ। त्यस्तै ४ वटा बक्स कल्भर्टको निर्माण पनि सकिएको छ।

एक ओभरपासमध्ये त्यो पनि सम्पन्न भएको आयोजनाले जनाएको छ। यसका तीनवटा पुल सम्पन्न भएको छ भने एउटा फ्लाईओभरको निर्माण भइरहेको छ।

यसमा फाउन्डेसन र ल्यान्ड कम्पेन्सेसनका काम भइरहेको आयोजनाले जनाएको छ। यसरी १२ वटा संरचनामध्ये १० वटा सम्पन्न भएको आयोजनाको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here