काठमाडौं, २७ जेठ । अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजस्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन् ।
शुक्रबार प्रतितिनिधिसभा अन्तर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले देशलाई सन् २०२६ सम्म कम विकसितबाट विकासोन्मुखमा स्तर उन्नति गर्ने लक्ष्य राखेकाले त्यसको लागि अबौं लगानी गर्नुपर्ने बताएका छन्।
मन्त्री शर्माले देशको स्तरउन्नति गर्न अहिले बजेटमा छुट्याएको पुँजीगत तथा समग्र खर्चले मात्रै लक्ष्य हासिल हुने दाबी गरे।
उनले अहिले आन्तरिक र बाह्य ऋण गरी १७ खर्ब ३७ अर्ब रुपैयाँ ऋण रहेको बताए। सरकारले यो वर्ष मात्र ४० देखि ४५ अर्ब रुपैयाँ ऋण भुक्तानी गर्न लागेको समेत उनले बताए। ऋण भुक्तानी गर्नु परेकाले अहिलेको बजेटमा पुँजीगत खर्च भन्दा चालु खर्चमा वित्तीय व्यवस्थापन धेरै भएको पनि बताएका छन्।





















