५ महिनामा दुई लाख पर्यटक भित्रिए, देश छोड्ने नेपालीको संख्या ५ लाख ६ हजार

काठमाडौं, २९ जेठ । नेपालमा पछिल्ला दिनमा पर्यटक आगमन उत्साहजनक देखिएको छ ।

गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागको तथ्यांक अनुसार पछिल्लो पाँच महिनामा विभिन्न देशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा करिब दुई लाख पर्यटक भित्रिएका छन् ।

सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा विश्वका १७० भन्दा बढी देशबाट ती पर्यटक नेपाल आएका हुन् । पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ९४४ जना पर्यटक नेपाल आएका छन् । सोही अवधिमा नेपालबाट १ लाख ८३ हजार ६७५ जना पर्यटक स्वदेश फर्केका छन् ।

विश्वमा कोरोना महामारी सुरु भएपछि रोकिएको पर्यटकको आगमन पछिल्ला महिनाहरुमा विस्तारै बढ्न थालेको छ । कोरोनाको खोप प्रयोगमा आएपछि पर्यटकको चहलपहल बढ्न थालेको हो । कोरोना महामारीका कारण सन् २०२१ मा मात्र एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल आएका थिए ।

अघिल्लो एक वर्षमा आएकाभन्दा बढी पर्यटक यस वर्षको पहिलो पाँच महिनामा नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना पर्यटक आएका थिए । विभागका अनुसार सन् २०२२ को जनवरीमा १६ हजार ९७५, फेव्रुअरीमा १९ हजार ९६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका छन् ।

त्यस्तै विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० नेपाली विदेश गएका छन् । सोही अवधिमा विदेशबाट ३ लाख ८४ हजार २५५ जना स्वदेश फर्केका छन् ।

सन् २०२२ को जनवरीमा १ लाख ५ हजार ९७२, फेब्रुअरीमा ८० हजार ५२१, मार्चमा ९८ हजार ५५५, अप्रिलमा १ लाख ७ हजार ६६६ र मेमा १ लाख १३ हजार ७१६ जना नेपाली विदेश गएका छन् ।

विभागको तथ्याङ्कअनुसार सन् २०२१ मा ६ लाख ४६ हजार ५६३ र सन् २०२० मा ३ लाख ८७ हजार ९९४ जना विभिन्न उद्देश्यले विदेश गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here