यस वर्ष मनसुनका कारण २० लाख मानिस प्रभावित हुने अनुमान

काठमाडौं, ३१ जेठ । सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ पारित गरेको छ । यससँगै यो वर्ष मनसुनबाट २० लाख मानिस प्रभावित हुने अनुमानसँगै त्यसको प्रतिकार्यको तयारी समेत सुरु भएको छ । मनसुन भित्रिएपछि देशभरबाट विभिन्न घटना सार्वजनिक हुन थालेका छन् ।

यस वर्ष औसतभन्दा बढी वर्षा हुने र त्यसबाट २० लाख जनसङ्ख्या र चार लाख २१ हजार घरधुरी प्रभावित हुने पूर्वानुमान गरिएको छ । यस सन्दर्भमा मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारले पूर्वतयारी गरेको छ ।

सम्भावित बाढीपहिरो तथा डुबानबाट जनधनको क्षति कम गर्न सरकारले ७७ वटै जिल्लामा विशेष सतर्कतासहित पूर्वतयारीमा जुटेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार गृह मन्त्रालयमा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ पारित गरेको छ ।

मनसुनजन्य विपत्का घटनाबाट हुनसक्ने क्षति कम गर्न भइरहेको पूर्वतयारीबारे समीक्षा पनि बैठकले गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको सो कार्ययोजनामा अघिल्लो वर्ष बाढीपहिरो तथा डुबानको क्षति तथा अघिल्ला १० वर्षको मनसुनको अवस्थालाई विश्लेषण गरी कार्ययोजना तयार गरेको छ ।

कार्ययोजनामा १४ वटा विभिन्न सरोकारवाला निकायसहित तीनवटा सुरक्षा निकायको जिम्मेवारी तोकिएको छ । स्थानीय तह, जिल्ला तथा प्रदेश तहमा रहेका विपत् व्यवस्थापन समिति अपनाएको पूर्वतयारी, जनशक्तिको अवस्था एवं साधनस्रोतको विवरणसहितको विस्तृत कार्ययोजना गृह मन्त्रालयमा पेस गर्न परिपत्र गरिएको छ । यो वर्ष विपद्सँग जुध्न पूर्वतयारीको काम ढिला गरेको भन्दै सरकारको आलोचना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here