राष्ट्रिय एथलेटिक्सको ३ हजार मिटर दौडमा गोपी र सन्तोषीलाई स्वर्ण

फाइलफोटो

काठमाडौं, १२ असार । ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर दौडमा एपीएफ क्लबका गोपी चन्द्र पार्की र वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषी विजेता बनेका हुन् ।

गोपीले निर्धारित दूरी ८ मिनेट २९ दशमलव ५ सेकेण्डमा पूरा गरे । यस्तै आर्मीका मुकेश पालले रजत र आर्मीका दीपक अधिकारीले कास्य जितेका छन् ।

आर्मीका पालले शुक्रवार भएको १५ सय मिटर दौडमा स्वर्ण जितेका थिए ।

महिलातर्फ सन्तोषीले निर्धारित दूरी १० मिनेट ०६ दशमलव ७ सेकेण्डमा पूरा गरिन् ।

यसअघि सन्तोषीले १५ सय मिटरमा पनि स्वर्ण जितेकी थिइन् । पुलिसकी राजपुरा पछाईले १० मिनेट ०८. ४ सेकेण्डसहित रजत जित्दा कर्णालीकी राममाया बुढाले १० मिनेट ४१.९ सेकेण्डसहित कास्य हात पारिन् ।

नेपाल एथलेटिक्स संघकाे आयोजनामा जारी प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी,प्रहरी, सशस्त्र) गरी १० टाेलीबाट २४० खेलाडीको सहभागी छन् । प्रतियोगितामा ३१ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here