नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, सुरुङ खन्ने काम ५६ प्रतिशत सकियो

काठमाडौं, २३ असार । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम आधाभन्दा बढी काम सम्पन्न भएको छ ।

कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म ३ हजार ७२ खनिसकिएको हो। नागढुंगा सुरुङमार्ग आयोजनाले सार्वजनिक गरेको पछिल्लो प्रगति विवरण अनुसार यो भनेको कुल ५६ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भएको हो ।

नागढुंगा सुरुङमार्गको कुल २ हजार ६८८ मिटर मुख्य सुरुङमध्ये हालसम्म १ हजार ३७७ मिटर खनिसकिएको छ ।

२६ सय ८ मिटरको मुख्य सुरुङमार्गको पूर्वबाट ७१ र पश्चिमबाट ६५९ मिटर काम सम्पन्न भएको हो। आकस्मिक सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये १५ सय ७ मिटर खनिएको छ। पूर्वबाट ८७६ र पश्चिमबाट ६३१ मिटर खनिएको हो।

आकस्मिक र मुख्य सुरुङमार्गको लागि आवश्यक पर्ने १२८ मिटर मध्ये ६२ मिटर क्रस प्यासेज सुरुङ खनिएको छ। कुल ५ किलोमिटर ४९९ मिटर सुरुङ खन्नुपर्नेमा ३ किलोमिटर ७२ मिटर सुरुङ खनिएको छ।

आयोजनाको लागि ३ वटा अन्डरपास निर्माण गर्नुपर्नेमा अहिलेसम्म २ वटा सम्पन्न भइसकेको छ । एउटा ओभर पास निर्माण गर्नुपर्नेमा अहिलेसम्म निर्माण भइसकेको छ ।

त्यस्तै, बक्स कल्भर्ट ४ वटै पूरा भएको छ । काठमाडौतर्फ निर्माण गर्नुपर्ने एउटा फ्लाईओभर निर्माणस्थलको भने अहिले जग्गा प्राप्तिको लागि मुआब्जा दिने काम भइरहेको छ ।

सँगै फाउण्डेशन निर्माणको काम समेत थालिएको छ । कुल १२ वटा संरचना निर्माण गर्नुपर्नेमा १० वटा पूरा भइसकेका छन् । सडक र सुरुङ जोड्ने फ्लाई ओभरको फाउन्डेसनसँगै जग्गा अधिग्रहणको काम भइरहेको छ।

यो सुरुङमार्ग करिब २ हजार ६८८ मिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ ।

टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

आयोजनाको कुल भौतिक प्रगति ३९ प्रतिशत भएको छ भने वित्तीय खर्च ४५.५० प्रतिशत रहेको छ । कुल कामदार संख्या ५ सयको हाराहारीमा भएको आयोजना कार्यालयले जानकारी दिएको छ । आयोजना १३ बैशाख २०८० मा सम्पन्न गर्ने ठेक्का सम्झौता छ । तर, म्याद थपसँगै तोकिएको समयमा आयोजना सम्पन्न हुनेछैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here