आर्थिक सुधारक जापानी पूर्वप्रधानमन्त्रीको हत्यापछि विश्वभर निन्दा, नेपालमा राष्ट्रिय शोक घोषणा

२४ असार, काठमाडौं । गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अस्पतालमा निधन भएसँगै विश्वभर घटनाको निन्दा गरिएको छ । उनी ६७ वर्षका थिए। सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय पुरुष भएको बताइएको छ।

उनी प्रहरी हिरासतमा छन्। ती व्यक्ति भूतपूर्व जलसैनिक भएको बताइएको छ। नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला आबेमाथि गोली प्रहार भएको हो । भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको गर्दनमा लागेको थियो। गोली लागेपछि उनी भुइँमा ढलेका थिए।

उनको शरीर रक्ताम्मे देखिएको थियो। यसअघि टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्वीट गर्दै आबेको मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा भएको बताएका थिए। समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ।

जापानमा हाते बन्दुक प्रतिबन्धित छ। त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ। सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा एउटा सडकको बीचमा स्वास्थ्यकर्मीहरू आबे वरिपरि बसेको देखिएको थियो।

आबेलाई अस्पताल लगिएको थियो। नारा सहरको आपत्कालीन उद्धार निकायले आबेलाई गर्दनमा दाहिनेपट्टि र काँधको देब्रे हड्डीमा चोट लागेको बताएको छ।

अस्पतालमा उनलाई रगत दिइएको थियो। नेपालका प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेताले पनि आबेलाई नेपालका असल मित्र भन्दै उनको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन्। जापानमा सबभन्दा लामो समय प्रधानमन्त्री रहेका आबेको हत्याप्रति विश्व नेताहरूले गहिरो दुख प्रकट गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले उनको निधनको खबरले आफू अत्यन्त दुखित भएको बताएका छन्। ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारुले तीन दिने राष्ट्रिय शोक घोषणा गरेका छन्। भारतमा पनि एक दिने शोक घोषणा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आबेलाई विश्वका एक राजनेता भनेका छन्।

टोक्योस्थित चिनियाँ दूतावासले समवेदना प्रकट गरेको छ। नेपाल सरकारले आबेको हत्या भएकोमा घोर भर्त्सना गरेको छ। आबेको सम्मानमा नेपाल सरकारले असार २५ गते शनिवार राष्ट्रिय शोकको घोषणा पनि गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको हो ।
बीबीसीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here