ट्वीटर नकिन्ने निर्णयमा किन पुगे मस्क ?

काठमाडौं, २५ असार । टेस्लाका प्रमुख कार्यकारी इलोन मस्क ट्वीटरको विश्वचर्चित खरीद सम्झौताबाट पछाडी हटेका छन् । उनी अब यो सम्झौता अगाडी नबढाउने निर्णयमा पुगेका हुन् ।

उता, ट्विटरका अध्यक्ष ब्रेट टेलरले आफ्नो कम्पनी खरिदका लागि भएको ४४ अर्ब डलर बराबरको सम्झौता पूर्ण रूपमा लागु गराउन टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कमाथि मुद्दा दायर गर्ने तयारीमा छन् । एउटा ट्वीटमा टेलरले यसअघि मस्कसँग भएको सर्त अनुसार उक्त कारोबार सम्पन्न गर्न ट्विटर प्रतिबद्ध रहेको बताएका छन् ।

मस्कले आफू उक्त सम्झौताबाट पछि हटेको घोषणा गरेका थिए। उनका वकिलहरूले उक्त माइक्रोब्लगिङ् साइटले आफूले दाबी गरेजस्तै कुल प्रयोगकर्ताहरूमध्ये ५ प्रतिशतभन्दा कम स्प्याम रहेको भन्ने प्रमाण दिन अस्वीकार गरेको आरोप लगाएका छन्। उक्त खबर आएपछि ट्विटरको सेयर मूल्य ७ प्रतिशतले घटेको छ।

उक्‍त खरिदबारेको कानुनी लडाइँ जटिल र लामो हुनसक्ने ठानिएको छ। प्रारम्भिक खरिद् सम्झौतामा त्यसलाई तोड्नुपर्ने अवस्थामा १ अर्ब डलर तिर्नुपर्ने सर्त राखिएको थियो। गएको मे महिनामा मस्कले आफूले ट्विटरमा रहेका नक्कली र स्प्याम खाताबारे विवरण कुरिरहेको भन्दै उक्त सम्झौता अस्थायी रूपमा यथास्थितिमा राखिएको बताएका थिए।

कम्पनीले दाबी गरेजस्तै कूल प्रयोगकर्ताको ५ प्रतिशतभन्दा कम त्यस्ता खाताहरू रहेको पुष्टि हुने प्रमाण दिन ट्विटरलाई भनेका थिए। यूएस सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनलाई लेखेको पत्रमा मस्कका वकिलहरूले ट्विटर त्यस्तो सूचना दिन विफल भएको वा उसले नचाहेको बताएका छन्।

स्प्याम खाताहरू ठूलो सङ्ख्यामा मानिसहरूलाई सूचना फैलाउने लक्ष्य सहित खोलिएका हुन्छन् र उनीहरूले उक्त सञ्जालमा हुने अन्तरक्रियालाई आफ्नो अनुकूल प्रभावित पार्ने लक्ष्य राख्छन्। बिहीवार मात्रै ट्विटरले आफूले प्रत्येक दिन झन्डै १० लाख त्यस्ता खाता मेटाउने गरेको बताएको थियो।

मस्कको विश्वासमा ट्विटरका २० प्रतिशत वा त्यो भन्दा बढी खाता स्प्याम रहेका हुनसक्छन्। विश्वका सबैभन्दा धनी मानिसका रूपमा चिनिएका मस्क रकेट कम्पनी स्पेश एक्स र विद्युतीय कार कम्पनी टेस्लाका मालिक हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here