११ महिनामा देशको व्यापारघाटा १२ खर्ब ११ अर्ब

काठमाडौं, ३ साउन । आर्थिक वर्ष २०७५÷७६ को एघार महिनामा नेपालको व्यापारघाटा १२ खर्ब नाघेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको आर्थिक वर्ष २०७५/७६ को जेठ मसान्त सम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनले उक्त तथ्य सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार एघार महिनामा कुल वस्तु व्यापार घाटा १७.२ प्रतिशतले विस्तार भई १२ खर्ब ११ अर्ब ९६ करोड पुगेको छ ।

समिक्षा अवधिमा देशको निर्यात १८.७ प्रतिशतले वृद्धि भई ८७ अर्ब ८३ करोड रुपैयाँ पुग्दा आयात भने १७.३ प्रतिशतले बढेर १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

मुलुकका आधारमा भारतबाट भएको आयात १५.१ प्रतिशत, चीनबाट भएको आयात ३०.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ ।

राष्ट्रबैंकका अनुसार पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, तयारी पोशाक, एम.एस. बिलेट, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमासको तेल लगायतका वस्तुहरुको आयात घटेको छ ।

त्यस्तै नेपालबाट भारततर्फ ३३.३ प्रतिशत र अन्य मुलुकतर्फ १.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा २७.१ प्रतिशतले कमी आएको छ ।

पोलिष्टर यार्न, जुटका सामान, चाउचाउ, दाल, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोशाक, जुत्ता तथा चप्पल, छाला, पश्मिना लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here