काठमाडौं महानगरमा कुहिने र नकुहिने फोहोर नछुट्याए आजदेखि जरिवाना तिर्नुपर्ने

फाइलफोटो

काठमाडौं, १ साउन । काठमाडौँ महानगरमा आजदेखि फोहोर वर्गीकरण गरेर मात्र संकलन गरिने भएको छ।

काठमाडौँ महानगरपालिकाका अनुसार आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने छ। तोकिएबमोजिम फोहोर व्यवस्थापनका लागि सहयोग गर्न महानगरले सर्वसाधारणलाई आग्रह गरेको छ ।

महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहोर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो ।

सूचनामार्फत महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ ।

नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न पुन चक्रिय फोहोर संकलकलाई बेचेर आयआर्जन गर्न भनिएको छ । यस्तै प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोग गर्न भनिएको छ ।

फोहोरलाई स्रोतमा नछुट्याउने उत्सर्जकलाई प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ ।

२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम जरिवाना तिराइने महानगरको वातावरण विभागको भनाइ छ ।

तोकिएको दिनमा वर्गीकरण नगरेको फोहोर संकलन गर्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप ५०० रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको छ ।

कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि महानगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here