आयातमा थप कडाइ, १० वस्तुको लगाएको प्रतिबन्ध परिमार्जनसहित निरन्तरता

काठमाडौं, १ साउन । सरकारले विभिन्न १० वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको छ ।

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा शनिबार मध्यरातमा राजपत्रमा एक सूचना प्रकाशित गर्दै आगामी भदौ १४ गतेसम्मको लागि प्रतिबन्ध लम्ब्याएको हो ।

यसअघि बैशाख १४ गते लगाएको आयात प्रतिबन्ध अब भदौ १४ सम्म कायम रहने छ। देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सरकारले यसअघि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सरकारले यसअघि २५० सीसीसम्मका मोटरसाइकल आयात गर्न दिइएको भएपनि यसपटक १५० सीसी माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको हो ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानमा लगाएको प्रतिबन्धलाई पनि निरन्तरता दिएको छ ।

गाडीको साथै सबै किसिमका कुकुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन, सबै किसिमका तयारी मदिरा, हिरा, ३०० डलर माथिका मोवाइल फोन, तास र सबै प्रकारका खेलौना आयातमा प्रतिबन्ध लगाएको हो ।

सरकारले व्यक्तिगत प्रायोजनमा आउने गाडी, २ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, मोबाइल तथा टीभीलगायतको आयातमा प्रतिबन्ध लगाएको थियो ।

यसअघि ६ सय डलरभन्दा माथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइएको थियो । अब भने ३ सय डलरभन्दा बढी मूल्यका स्मार्टफोन आयात गर्न नपाइने भएको छ ।

त्यस्तै मदिरा, सुर्तीजन्य वस्तुमा पनि कच्चा पदार्थबाहेक रोक लागेको छ । यस्तै ३२ इन्चभन्दा माथिका टेलिभिजन सेट, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका खेलौना, तासको आयातमा रोक लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here