काठमाडौं, १ साउन । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हैजाको संक्रमण देखिएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार थप तीन जनाका संक्रमण पुष्टी भएको छ ।
काठमाडौंकै चन्द्रागिरि, कीर्तिपुर र बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि हैजा संक्रमण भेटिएको हो । योसँगै काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या ३० पुगेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौंका तीन पालिका हैजा संक्रमणको ‘रेड जोन’मा परेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका संक्रमितको संख्याका आधारमा रेड जोनमा परेका हुन् ।
महाशाखाले तीनजनाभन्दा बढी संक्रमित भएको पालिकालाई रेड जोनमा राखेको छ । उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।
पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो। त्यसपछि बिरामीको संख्या बढ्दै आएको छ।
काठमाडौं, ललितपुर महानगरले पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।