शेयर बजारमा सकारात्मक संकेत, दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, २ साउन । साताको कारोबारको दोस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ ।

कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) १६.३५अंकले बढेर २०२७.७५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३१ कम्पनीको १ अर्ब २९ करोड २३ लाख ६६ हजार ९०६ रुपैयाँ बराबरको ३० लाख ९१ हजार ९८६ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । आइतवार १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । होटल समूहको परिसूचक सबैभन्दा धेरै ४.९३ प्रतिशतले बढेको छ ।

होटल समूह सबैभन्दा धेरै ४.९३ प्रतिशतले बढेको छ । दोहोरो अंकले बढेको बजारमा आज वरुण हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, इमर्जिङ नेपाल ९.६२, चन्द्रागिरी हिल्स ६.०६, अपी पावर ५.१८, तारागाउँ होटल ४.९८, ओरेन्टल होटल ४.८५, सिंगटी हाइड्रो ४.७०, सोल्टी होटल ४.६३, नेपाल हाइड्रो डेभलपर र एक्सल डेभलपमेन्ट बैंकका शेयर धनीले ४ प्रतिशत कमाएका छन् ।

आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ९ करोड ३४ लाख रुपैयाँ भन्दा माथि कारोबार भएको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाख, अपि पावरको ५ करोड ८९ लाख, अपर तामाकोशीको ५ करोड ६२ लाख र गोर्खाज फाइनान्सको ४ करोड ४१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

लगानीकर्ताहरु शेयरबजारमा सुधार आउन नयाँ आर्थिक वर्षको मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् ।

पछिल्लो समय शेयरबजारमा कारोबारमा खासै उत्साह देखिएको छैन । नेप्सेमा सूचीकृत कम्पनीहरु मर्जरमा गएसँगै नेप्सेले सो कम्पनीहरुको कारोबार रोक्का गरिदिएका कारण पनि कारोबार घट्न पुगेको हो ।

बजारले नयाँ मौद्रिक नीतिको पूर्वसन्ध्यामा सकारात्मक संकेत गरिरहेको छ। यसअघि मौद्रिक नीति सार्वजनिक भएसँगै बजार विस्तारै घट्न थालेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here