एक सातामै ४७ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो ८६.४१ प्रतिशत

काठमाडौं, २८ असार । एक सातामा वाणिज्य बैंकहरूमा ४७ अर्ब रूपैयाँले निक्षेप वृद्धि भएको छ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार एक सातामा बैंकहरूको निक्षेपमा ४७ अर्बले वृद्धि भएर ४५ खर्ब ४१ अर्ब रूपैयाँ पुगेको हो।

जुन अघिल्लो साता ४४ खर्ब ९४ अर्ब रुपैयाँ थियो । त्यस्तै, असारको पहिलो सातामा भने सो रकम ४३ खर्ब ९४ अर्ब रुपैयाँमा सीमित थियो ।

निक्षेप संकलनमा आक्रमक भएका बैंकहरुको कर्जा लगानी भने सुस्त देखिएको छ । ४७ अर्ब निक्षेप संकलन गर्दा कर्जा लगानी भने १ अर्बले बढेको छ ।

संघको तथ्यांक अनुसार बैंकहरुले असार अन्तिम सातासम्ममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् ।

जुन अघिल्लो साताको तुलनामा १ अर्ब रुपैयाँले बढी हो भने असारको पहिलो साताको तुलनामा १३ अर्ब रुपैयाँले घटी हो । असारको पहिलो सातामा यस्तो रकम ४१ खर्ब ८८ अर्ब रुपैयाँ थियो ।

यो अवधिमा बैंकहरुको सीडी रेसियो घटेर ८६.४१ प्रतिशतमा झरेको छ । सामान्यतया असार महिनामा बैंकहरुमा निक्षेप संकलन अन्य महिनाको तुलनामा बढी हुने र कर्जा परिचालन कम हुने देखिन्छ।

नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म ९० प्रतिशतको सीडी रेसियो कायम गर्नु पर्ने व्यवस्था गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here