काठमाडौं, ३ साउन । साताको कारोबारको तेस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ ।
कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) १६.२० अंकले बढेर २०४५.६३ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २१३ कम्पनीको २ अर्ब २९ करोड ९३ लाख १६ हजार २२६ रुपैयाँ बराबरको ५७ लाख १३ हजार २४८ कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । सोमवार १ अर्ब २९ करोड २३ लाख ६६ हजार ९०६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २.७० प्रतिशतले बढेको छ ।
एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जीङ नेपाल लिमिटेडको शेयरमूल्य पनि ८.०१ प्रतिशतले बढेर प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ ।
आज सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको हो ।
त्यस्तै, एभरेष्ट बैंकको १० करोड ५ लाख, हिमालयन डिस्टिलरीको ८ करोड ४८ लाख, एनआइसी एशिया बैंकको ६ करोड ८८ लाख र अरुण काबेली पावरको ५ करोड ९४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज सिभिल बैंक डिभेञ्चर २०८८ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो ।
लगानीकर्ताहरु शेयरबजारमा सुधार आउन नयाँ आर्थिक वर्षको मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् ।
पछिल्लो समय शेयरबजारमा कारोबारमा खासै उत्साह देखिएको छैन । नेप्सेमा सूचीकृत कम्पनीहरु मर्जरमा गएसँगै नेप्सेले सो कम्पनीहरुको कारोबार रोक्का गरिदिएका कारण पनि कारोबार घट्न पुगेको हो ।
बजारले नयाँ मौद्रिक नीतिको पूर्वसन्ध्यामा सकारात्मक संकेत गरिरहेको छ। यसअघि मौद्रिक नीति सार्वजनिक भएसँगै बजार विस्तारै घट्न थालेको थियो।