डेन्टल एशोसिएसनद्वारा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण

काठमाडौं, ६ साउन । नेपाल डेन्टल एशोसिएसनले दन्त स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्ति राख्ने कुरामा गम्भिर त्रुटि भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

एशोसिएसनले बुधबार स्वास्थ्य मन्त्री खापुङसँग ५, १० र १५ शय्याका आधारभूत अस्पतालहरुमा ओरल हेल्थ युनिट स्थापना गरी दन्त चिकित्सकको दरबन्दी स्थापित गर्नुपर्ने माग गरेका हुन्।

आधारभूत अस्पतालमा दन्त स्वास्थ्य सेवा प्रदान गर्ने जनशक्ति राख्ने कुरामा गम्भीर त्रुटि भएको भन्दै उनीहरुले मन्त्री खापुङको ध्यानाकर्षण समेत गराएका छन्।

स्वास्थ्य मन्त्रालयमा मात्र नभई विभिन्न मन्त्रालयमा भेटघाट भइरहेको एशोसिएसनका केन्द्रिय सदस्य डा. लोकेश वर्माले बताए । केही दिनदेखि हामी भेटघाट तथा आन्तरिक छलफलमा छौं, यो निर्णय जनताको हितमा पनि छैन, अनि हाम्रो हितमा पनि छैन ।

स्वास्थ्य मन्त्रालयका उच्च तहका पदाधिकारीहरुले नै झुटो आश्वासन बाँडेर गुमराह पारेको आरोप डा हरि प्रसाद ओलीले लगाए ।

टेबल ठटाउनेका कुरा सुनेर डर,त्रास, धम्की, प्रलोभन के के मा परेर जथाभावी दरबन्दी राखिदिने, अनि हामीले नम्र, शिष्ट व्यवहारमा कुरा राख्दा चाहिँ हामीलाई आश्वासन मात्र दिने काम स्वास्थ्य मन्त्रालयको उच्च कर्मचारीबाट भएको छ ।

स्वास्थ्य मन्त्री लाई हामीले त्यही ध्यानाकर्षण गराएका हौं, कर्मचारीतन्त्रले त गरेन, जनप्रतिनिधिले त जनताको बारेमा पक्कै सोच्नेछन् भन्ने हाम्रो विश्वास अझै कायम छ।

अहिले छलफल र संवादमा केन्द्रित भएपनि माग पुरा नभए संघर्षमा उत्रन बाध्य हुने एशोसिएसनका सचिव डा. विश्वप्रकाश ठाकुरले बताए।

उनले भने, ‘ राज्यले वार्षिक पाँच सय दन्त चिकित्सक उत्पादन गर्छ। तर दक्षता अनुरुपको सेवा गर्ने स्थान भने दिँदैन। यो निर्णयले अब भविष्यमा पनि राज्यको र जनताको आवश्यकता अनुसार दन्त चिकित्सक सरकारी सेवा प्रणालीमा नपर्ने निश्चित नै भयो। यसलाई हामी मान्दैनौ।’

दन्त सेवा उपलब्ध हुने स्वास्थ्य संस्थामा दन्त चिकित्सकको दरबन्दी हुनुपर्ने एशोसिएसनका अध्यक्ष डा सुभित मास्केले बताए। हाल आफ्नो माग सम्बोधनका लागि स्वास्थ्यमन्त्री, स्वास्थ्य राज्यमन्त्री र अन्य उच्च तहको संवाद र छलफल चलिरहेको डा हरिप्रसाद ओलीले जानकारी दिए। एशोसिएसनको शाखा कार्यालय हाल १६ जिल्लामा विस्तार भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here