बल्ल बल्यो बिजुली : १८ नम्बर पिल्लर बस्तीका स्थानीयबासीहरुमा खुशीयाली

पप्पु गुरुङ

दोधारा । दोधारा चाँदनी नगरपालिकाको अठार नम्वर पिल्लर बस्तीमा टुकीको उज्यालोमा रातहरु बित्थे । भनेको समयमा मट्टीतेल पाईदैनथ्यो । अनि अध्यारोमै हुन्थ्यो भात भान्सा र सुताई । पछि बस्तीमा सानो सोलारले उज्यालो सबैले भारतबाट खरिद गरे ।

हुनेले सानो सोलर जडान गरे, पैसा नहुनेले जडान गर्न सकेनन् । बिजुलीको उज्यालोमा बस्ने सपना बुनेका दिल बहादुर राना क्षेत्रीको ईच्छा बल्ल पूरा भएको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. १० जगबुडा नदीको पारीको भारत संग जोडिएको बस्ती अठार नम्वर पिल्लर बस्ती हो । भारतको सिमा संग जोडिएको अठार नम्वर पिल्लर बस्तीमा अहिले आएर घरमा बिद्युत पुगेपछि स्थानीयहरु दंग भएका छन् ।

‘केही दिन अघि मात्रै पोल गाडिएको थियो । अब कहिले बिजुली आउला र उज्यालोमा बस्न पाइएला भन्ने थियो । त्यो सपना पनि पुरा भयो’, अठार नम्वर पिल्लर बस्तीका स्थानिय दिल बहादुर राना क्षेत्रीले भने– ‘टुकी र सानो सोलर बत्ती बालिन्थ्यो । अब बिजुली बालिन्छ ।’

नवनिर्वाचित जनप्रतिनिधी आए संगै बस्तीमा उज्यालो आएको उनको भनाई रहेको छ् । बस्तीमा बिजुली पुगेपछि अठार नम्वर पिल्लर बस्तीवासी हर्षित बनेका छन् । वडा कार्यालयको पहलमा बस्तीमा बिजुली पुगेपछि भारत संग सिमा जोडिएको ८ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

बस्तीमा बाटघाटो, खानेपानी, बिजुली, सञ्चार मात्र होईन आधारभूत स्वास्थ्य सेवाबाट समेत उक्त बस्ती बञ्चित रहदै आएको हो । बिगतका दिनहरुमा दर्जनौ घरधुरी रहेको र जगबुडा नदीको कटानी तथा बाढीको कारण अन्य घरहरु बिस्तापित भएर ८ घरधुरीमा सिमित रहेका छ् ।

‘रातीको समयमा उज्यालोका लागि सानो सोलार र ‘टुकी’ कै भरमा थिए । ‘रात परेपछि टुकी र सोलारको भर पर्न बाध्य थियौं’ सुन्दर ओलीले भने– ‘सानो सोलारले त्यत्ती उज्यालो नदिदा महंगो मट्टितेल प्रयोग गरी टुकी बाल्नुपथ्र्यो, धेरै वर्षको प्रयासपछि बिजुली बलेपछि खुशी छौं ।’

अन्धकारबाट टुकी र सानो सोलारको प्रकाशले मधुरो उज्यालो भएपनि बालबालिकाको पठन पाठन र घरेलु कामकाजको लागी बिजुली नहुूदाको पीडा धेरै भोगेको उनले सुनाए ।

बस्तीका दिल बहादुर राना, सुन्दर सुनार, नेत्र बहादुर सुनार र दान सिंह भाटले बिद्युत मिटर घरमा जडान गरेर घर झलमल्ल बनाएका छन् । अझै ४ घरधुरीमा बिद्युत मिटर लगाउन बाँकी रहेको बताईएको छ् ।

भारत संग जोडिएको सिमा बस्ती भएको कारण चोरी हुने भएको कारण पनि बिजुली बत्तीको आवश्यक रहदै आएको उनिहरुको भनाई रहेको छ् । ‘बस्तीमा बिधुत विस्तार भएपछि अब अध्यारो बस्ने दिन गएको छ, बिद्युत पुगेपछि खुशी छौं’ अर्का स्थानिय नेत्र बहादुर सुनारले भने ।

बस्तीमा बिजुली पुगेपछि स्थानियहरुले आय आर्जनका लागि तरकारी खेती गर्न हौसिएका छन् । बिद्युत सेवा नपुगेकै कारण तरकारी खेती गर्न नपाएका त्यस क्षेत्रका कृषकहरुले यस वर्ष देखि कृषि मिटर जडान गरी व्यावसायिक तरकारी खेती सुरु गर्ने तरखरमा छन् ।

‘बस्तीमा बिजुली पुर्‍याउन जटिल थियो । तर, हामीले त्यो जटिल काम पनि सम्पन्न गरेका छौं’, दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले भने, ‘जनताको अनुहारमा खुशी देख्न पाउदा हामी पनि उत्साहित भएका छौं ।’

केही दिन अघि मात्र दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले काठमाण्डौं गएको बेला नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ संग अठार नम्वर पिल्लर बस्ती र दोधारा चाँदनी नगरपालिकाको बिद्युतको समस्याको बारेमा अवगत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here