ज्यानमारा च्याउबाट जोखिम, कसरी चिन्ने विशालु च्याउ ?

वर्षायाममा वन, पाखा, खोला तथा खाली चउरमा च्याउ पर्याप्त मात्रामा उम्रन्छ । कुनै बेला एक रातमै ठूलो क्षेत्रमा च्याउ उम्रिएको देखिन्छ । च्याउ स्वास्थ्यका लागि फाइदाजनक वस्तु पनि हो । किनकी यसमा पौष्टिक तथ्व पर्याप्त मात्रामा पाइन्छ । तर, जंगलमा उम्रने सबै च्याउ खानयोग्य हुँदैनन् ।

कतिपय त्यस्ता च्याउका प्रजाति हुन्छन्, जसलाई सेवन गर्नु भनेको विष सेवन बराबर नै हो । विषालु च्याउको सेवनबाट विश्वभर मानिसको ज्यान जाने गरेको छ । नेपालमा पहाडी तथा दुर्गम क्षेत्रमा विषालु च्याउ धेरै खाने गरिन्छ ।

नेपालमा १ हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन्, जसमध्ये १ सय १० प्रजातिका च्याउ मात्र खानयोग्य हुने वनस्पती विज्ञहरु बताउँछन् । धेरैजसो च्याउ हेर्दा एकै प्रकारका हुन्छन् । सोहीकारण मानिसले विशालु च्याउ छुट्याउन सक्दैनन् ।

विज्ञहरुका अनुसार सामान्यतया खानयोग्य च्याउको माथि रहेको छातामा छुँदा चिप्लो अनुभव हुन्छ । तर, त्यो भाग खस्रो भए उक्त च्याउ विषालु हुन्छ । वनपाखा, खोला, घाँसे मैदानमा उम्रेका च्याउ खानुअघि विचार पुर्‍याउनुपर्छ ।

तितो स्वाद, नमीठो गन्ध, धेरै झुस, थरीथरीको रङ भएका च्याउ विषालु हुने गरेको पाइन्छ । छुँदा रङ परिवर्तन हुने वा भाँच्दा चोप निस्कने खालका च्याउमा समेत विष हुन्छ । विषालु च्याउ धेरै समयसम्म रहन्छ ।

खानयोग्य च्याउ केही दिनपछि कुहिन्छ । यसरी पनि च्याउ चिन्न सकिन्छ । विषालु च्याउमा किरा नलाग्ने भएकाले नै लामो समय रहेको हो । हेर्दा पनि सफा र आकर्षक देखिन्छ ।

विषालु च्याउ खाँदा देखिने लक्षण

च्याउको प्रकृति, उम्रेको स्थान, भण्डारण गर्ने तरिका आदि विभिन्न आधारमा शरीरमा विभिन्न असर देखिन्छन् । कतिपय च्याउ सेवन गर्दा व्यक्रिको तुरुन्तै मृत्यु हुने गर्छ भने कतिपयमा बिस्तारै स्वास्थ्य समस्या देखिन्छ ।

विषालु च्याउ खाँदा सुरुमा बान्ता, पखाला, टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखापर्छ । यसपछि बिरामीलाई केही सन्चो नभएको जस्तो महसुस हुन्छ । विषालु च्याउ खाइसकेपछि यसको विष शरीरको कलेजोसम्म पुग्छ ।

पित्तसँग मिलेर नयाँ तत्वको निर्माण गर्छ, जसले बिस्तारै मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास ल्याउँछ । अन्त्यमा कलेजो र मिर्गौला फेल भई मृत्यु हुने सम्भावना अधिक रहन्छ ।
यसको असर हरेक उमेर समूहमा फरक हुन सक्छ । जस्तै, बालक तथा वृद्धवृद्धा छिटो प्रभावित हुने गर्छन् ।

कसरी बच्ने

हाम्रो समाजमा विषालु च्याउको सेवनबाट हुन सक्ने हानिको बारेमा खासै चर्चा गरिँदैन । यसका लागि समाजमा जनचेतना जगाउनु जरुरी हुन्छ । विशेषगरी बालबालिकालाई यसबारे जानकारी गराउनुपर्छ । आफूले राम्ररी चिनेको च्याउ मात्र प्रयोगमा ल्याउनुपर्छ ।

सकेसम्म विभिन्न प्रजातिका च्याउ मिसाएर पकाउनुहुँदैन । त्यस्तै, संकलन तथा भण्डारण गर्दा सजग रहन आवश्यक हुन्छ । च्याउको विष लागिहालेमा बान्ता गराउने र पखाला लगाउने कुनै विधि अपनाउन सकिन्छ ।

सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ । जसले गर्दा बिरामीलाई विषले गर्न सक्ने हानिबाट बचाउन सकिन्छ । तर, च्याउको विषको उपचार निकै कठिन हुने र धैरैजसोको मृत्यु हुने भएकाले यसको प्रयोगमै सजगता अपनाउन जरुरी छ ।

विभिन्न स्रोतबाट संकलित जानकारीको सम्पादित अंश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here