अर्थ मन्त्रालयमा जनार्दनको कमब्याक, राष्ट्रपतिद्वारा अर्थमन्त्री नियुक्त

काठमाडौं, १५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनले नियुक्ति गरेकी हुन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८-३-२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री जनार्दन शर्मालाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नवनियुक्त मन्त्री शर्माको शपथ ग्रहण कार्यक्रम आजै साँझ साढे ५ बजे तय गरिएको छ । संसद बजेट प्रस्तुत हुनु अघिल्लो दिन राति अनधिकृत व्यक्ति प्रवेश गराएर बजेटमा करका दर हेरफेर गराएको आरोप लागेपछि असार २२ गते शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।

छानबिन समिति गठन हुनुअघि संसद्मा सम्बोधन गर्दै शर्माले छानबिनमा सहयोग गर्ने उल्लेख गर्दै पदबाट राजीनामाको घोषणा गरेका थिए ।

उनीबारे छानबिन गर्न संसदीय छानबिन समिति बनेको थियो । तर, संसदीय छानबिन समितिले ‘क्लिन चिट’ दिएपछि उनी फेरि अर्थमन्त्री बनेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here