घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा तत्काल नघट्ने

काठमाडौं, १६ साउन । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आइओसीले निगमलाई पेट्रोलियम पदार्थको सोमवार नयाँ मूल्यसूची पठाएको हो ।

आईओसीले अहिले घटाएर पठाए पनि यसअघिको नोक्सानीको असर परिरहेकाले सोनुरुप नेपालमा तत्काल तेलको मूल्य नघट्ने निगम स्रोतले जनाएको छ ।

आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र पेट्रोलको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर १२.४५ रुपैयाँ र डिजेल प्रतिलिटर १६.८० रुपैयाँ घटेर आएको छ । हाल निगमले प्रतिलिटर पेट्रोलको १८१ रुपैयाँ, डिजेल र मटितेल १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १९० रुपैयाँमा बेच्दै आएको छ ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ नाफा र डिजेलमा करिब १० रुपैयाँ घाटा हुने निगमले जनाएको छ । आइओसीले पेट्रोलियम पद्धार्थको मूल्य घटनएर पठाएको यो लगातार दोस्रो पटक हो । यसअघि पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेल प्रतिलिटर १६.५६ रुपैयाँ घटेर आएको थियो ।

भारतबाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई भने तत्काल सोअनुरुप लाभ नमिल्ने देखिन्छ । हाल निगमले घाटामा इन्धन बेचिरहेकाले भाउ घटेर आए पनि नघट्ने देखिन्छ ।

पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको निरन्तरको गिरावटपछि दोस्रो पटक इन्धनको मूल्य घटेर आएको हो। हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रति ब्यारेल १०३ डलर हाराहारी रहेको छ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here