रोकिएन तरकारी तथा फलफूलमा विषादीको प्रयोग, जुनार, केरा लगायत ५१ नमूना खान अयोग्य

काठमाडौं, १७ साउन । काठमाडौं भित्रने हरिया तरकारी तथा फलफूलमा विषादीको प्रयोग नघटेको तथ्यांकले देखाएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको विवरणले यस्तो देखाएको हो ।

विभागले कार्तिक १ गतेदेखि असार मसान्तसम्म ५६ हजार ३ सय ३८ वटा आयातित फलफूल तथा तरकारीका नमूनाहरुको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर तथा आलु लगायतका ५१ वटा नमूनामा खान अयोग्य हुने जीवनाशक विषादीको प्रयोग हुने गरेको पाइएको जनाएको हो ।

कृषि मन्त्रालयको निर्देशनमा कार्तिक १ गतेबाटै विभागका ७ वटा कार्यालयले द्रुत गतिमा परीक्षणको काम थालेको समेत विभागले जनाएको छ ।

विभागले कात्तिक १ देखि काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीका नाकामा प्रयोगशाला स्थापना गरी भारतबाट ल्याइएका तरकारी तथा फलफूलमा जीवनाशक विषादीको द्रुत परीक्षण गर्दै आएको छ ।

यसअघि आयातित तरकारी तथा फलफूल केन्द्रीय कृषि प्रयोगशालाबाट मात्रै परीक्षण हुन्थ्यो ।

पछिल्लो समय खाद्यले पनि परीक्षण गरिरहेको छ। आयातित तरकारी सबैभन्दा धेरै कालिमाटी फलफूल तथा तरकारी बजारमा भित्रिन्छ । तर, आयातित तरकारीमा विषादीको मात्रा प्रभावकारी रुपमा परीक्षण हुने गरेको छैन ।

तरकारीको विषादीमा ३५ प्रतिशतसम्म इनिमेसन रेटलाई हरियो, ३५ देखि ४५ प्रतिशतलाई पहेँलो र ४५ भन्दा माथिलाई रातो नम्बरको संकेत समेत दिइएको छ ।

विषादीको मात्रा ३५ प्रतिशत इनिमेसन रेट भन्दा बढी हुनु हुँदैन । ४५ प्रतिशतसम्म इनिमेसन रेट भएका खाद्यवस्तु खान अयोग्य मानिए पनि केही समय भण्डारणमा राखी इनिमेसन रेट कम गरी खान मिल्छ । ४५ प्रतिशतभन्दा माथि इनिमेसन रेट भएका खाद्यवस्तु भने पूर्णत अखाद्य मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here