नर्भिक अस्पतालको टहरा तत्काल नभत्काइने, संरचना हटाउने समयदिन बालेन तयार

तस्विर: १२ खरीबाट

काठमाडौं । काठमाडौं महानगरपालि र नर्भिक इन्टरनेसनल अस्पतालबीच टहरा तत्काल नभत्काउने सहमति भएको छ । अस्पतालले नियमविपरीत बनाएका टहरा आजै भत्काउने तयारीबीच दुई पक्षबीच मौखिक सहमति भएको हो ।

जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने छन् ।

सो जग्गामा अस्पतालले अक्सिजन प्लान्ट र एमआरआई मेशिन राखेको छ। मेयर साहलाई अस्पताल व्पवस्थापकहरुले तत्काल संरचना स्थानान्तरण गर्न संभव नहुने र सेवा प्रभावित नहुने गरी सार्नुपर्ने भएकाले केही समय माग गरेका थिए।

नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) मंगलबार निर्देशन पालन भए नभएको हेर्न नर्भिक अस्पतालमा पुगेका थिए ।

इन्जिनियरहरूले त्यहाँ भएका सामग्री अन्यत्र जडान गर्न र सार्न लाग्ने समयबारे प्रतिवेदन बुझाउने र सोही आधारमा अर्को कदम चालिने सहमति भएको छ ।

अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १–८–१–८ जग्गा लिजमा लिई सरकारसँगको सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको महानगरले जनाएको छ ।

तर, अस्पतालले अत्यावश्यक बिरामीको उपचारका लागि चाहिने संवेदनशील सामग्री राखिएको भन्दै २४ घण्टामै टहरा भत्काउन नसकिने जनाएको थियो ।

नर्भिक हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले मंगलबार पत्रकार सम्मेलन गरेर आफूहरुले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएका थिए ।

२०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी लुम्बप्रसाद शिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएको भन्दै उनले सम्झौतापत्रसमेत सार्वजनिक गरेका थिए ।

नर्भिक अस्पताल र भूमि सुधार कार्यालयबीच २०६५ जेठ १ मा २० वर्षका लागि लिज सम्झौता भएको थियो । सम्झौतामा १ रोपनी ८ आना १ पैसा १ दाम क्षेत्रफलको जग्गा नर्भिकले प्रयोग गरेवापत वार्षिक ३७ हजार ९८९ रुपैयाँ भाडा तिर्ने उल्लेख छ ।

उक्त भाडादर प्रत्येक वर्ष १० प्रतिशत बढ्ने पनि सम्झौतामा जनाइएको छ । उक्त सम्झौताको अवधी अझै ८ वर्ष बाँकी छ ।

जग्गा भाडा विवादमा नर्भिक अस्पतालले भन्यो –’संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here