क्यान महासंघले आईटी पढ्न २ करोडको छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

काठमाडौं, २५ साउन । नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा विगत ३० वर्षदेखि कार्य गर्दै आईरहेको कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ प्रदान गर्दै आईरहेको छात्रवृत्तिको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागि आवेदन खुल्ला गरेको छ ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसन संगको सहकार्यमा क्यान महासंघले सूचना प्रविधिसँग सम्बन्धित विषय अध्ययन गर्न गरिब, जेहेन्दार, विद्यार्थीहरुको लागि छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

क्यानले बुधबार सूचना जारी गर्दै आवेदन खुल्ला भएको जानकारी दिएको हो ।

क्यानले विगत ४ वर्षदेखि गरिब तथा जहेन्दार विद्यार्थीलाई सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरुको सहयोगमा छात्रवृत्ति दिँदै आएको छ ।


क्यानले काठमाडौंको मैतिदेविस्थित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पुर्ण छात्रवृत्ति प्रदान गर्न लागेको छ । क्यान महासंघ र कलेजबिच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले १ करोड ९५ लाख ५८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् ।

क्यानको अनुसार विगत चार वर्षदेखि सञ्चालित यस छात्रवृत्ति कार्यक्रम अन्तरगत हालसम्म ४६ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

यो वर्ष पनि फिमेल मेरिट आईसीटी स्कलरसिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई र आईसीटी मेरिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई छात्रवृत्ति प्रदान गरिने क्यानले जानकारी दिएको छ ।

छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलाजी एण्ड इनोभेसनको सम्बन्धनमा संचालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत बिएससी आईटीको अध्ययन गर्न पाउनेछन् ।

क्यानको अनुसार नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु वा सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन । छात्रवृत्तिका लागि हाल कक्षा १२ परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्नेछन् ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले केन्द्रिय स्तरमा निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरसियाको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल र दिपेन्द्र कुमार सिंह तथा केन्द्रिय सदस्यद्वय सरिता सिंह र भिम मल्ल रहेको छात्रवृत्ति छनौट समिति गठन गरेको छ ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org मार्फत २०७९ साल भदौ ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

आवेदन दिँदा कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपिका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ । छात्रवृत्तिका निम्ति प्राप्त आवेदकहरुको अनलाईन परीक्षा २०७९ साल भदौ १० गते हुनेछ ।

क्यानले छात्रवृत्तिका अनलाईन परीक्षा भदौ १० गते गर्ने र भदौ १२ गते छात्रवृत्तिको परिणाम घोषणा गर्ने जानकारी दिएको छ ।

छात्रवृत्ति देशका दुर्गम क्षेत्रका विपन्न वर्गका विद्यार्थीहरुले पनि सुचना तथा संचार प्रविधिको क्षेत्रलाई आफ्नो पेशा/व्यवसाय बनाउन मद्दत पुग्ने र कार्यान्वयनको चरणमा रहेको डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग पुग्ने कुरा क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताए ।

त्यस्तै लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष ई. पंकज जालानले छात्रवृत्तिका निम्ति सुचना प्रविधि क्षेत्रको अग्रणी एवं छाता संस्था क्यान महासंघसंगको सहकार्यले देश भित्र रहेको डिजिटल-डिभाईड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस्तै कार्यमा अन्य संस्थाहरुलाई पनि सार्वजनिक-निजी साझेदारिको निम्ति प्रोत्साहन बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here