जापानको जनसंख्या एक वर्षमै ७ लाख २६ हजार घट्यो, ६५ वर्षमाथिकाको संख्या २९ प्रतिशत

काठमाडौं । जापानको जनसंख्या घट्दो अवस्थामा रहेको छ। जन्म भन्दा मृत्यु हुने जापानी नागरिकको संख्या बढ्दो छ।

जापानको सरकारी तथ्यांकअनुसार जापानको कुल जनसंख्या १२ करोड ५९ लाख २७ हजार ९०२ मा झरेको छ। यो तथ्यांक अघिल्लो वर्षको भन्दा ७ लाख २६ हजार ३४२ ले कम हो।

मन्त्रालयका अनुसार, जापानी नागरिकको संख्या २०२१ मा ६ लाख १९ हजार १४० ले घटेर १२ करोड ३२ लाख २३ हजार ५६१ रहेको थियो। जसमा १४ लाख ४० हजारको मृत्यु हुदा ८ लाख १० हजारको जन्म भएको थियो।

कमजोर जन्मदर र कोभिड–१९ को प्रतिबन्धको कारण बाहिरबाट आउने मानिसको संख्या घटेसँगै जापानको जनसंख्या पनि घटेको हो।

जापानको ओकिनावाबाहेक सबै ४७ क्षेत्रको जनसंख्या उक्त एक वर्षको अवधिमा घटेको छ।

श्रमिक जनसङ्ख्या मानिने १५ देखि ६४ वर्ष उमेर समूहका मानिसको अनुपात कुल जनसङ्ख्याको रेकर्ड ५८ दशमलव ९९ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ भने ६५ वर्षभन्दा माथिका मानिसको प्रतिशत २९ प्रतिशत रहेको छ।

जापानमा बस्ने विदेशीको संख्या पनि १ लाख ७ हजारले घटेर २७ लाखमा आइपुगेको छ। अन्तर्राष्ट्रिय सीमामा गरिएको कडाइको कारण लगातार दोस्रो वर्ष जापानमा विदेशीको संख्या घटेको हो।